अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न प्रधानमन्त्री दाहाललाई दलहरूको सुझाव
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री र दलका नेताहरूले चीन र भारत दुवै देशहरू नेपालका असल छिमेकीहरू रहेको भन्दै त्यसको सन्तुलन कायम राख्न सुझाव दिएका थिए।
काठमाडौं, भदौ २४ : सर्वदलीय बैठकमा दलहरुले नेपाल र छिमेकी राष्ट्रहरूबीचको सम्बन्धलाई सन्तुलनमा राख्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन्।
प्रधानमन्त्री दाहालले सिंहदलबारमा बोलाएको सर्वादलीय बैठकमा अमेरिका र चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललाई दलहरूले सबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सुझाव दिएका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री र दलका नेताहरूले चीन र भारत दुवै देशहरू नेपालका असल छिमेकीहरू रहेको भन्दै त्यसको सन्तुलन कायम राख्न सुझाव दिएका थिए।
दलहरुले चीन भ्रमणमा हुँदा नेपालको चुच्चे नक्साको विषयमा कुरा उठाउन समेत दलहरूले सुझाव दिएका छन्। बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले बैठकमा संयुक्त राष्ट्रसंघ र चीन भ्रमणका बेला प्रधानमन्त्रीले ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्वप्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको बताए।
‘प्रधानमन्त्रीज्यूले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको छ,’ उनले भने।
उनले प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउने विषयमा सबै राजनीतिक दलहरूको बीचमा सहमति भएको पनि बताए।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपाले सातबुँदे लिखित सुझाव दिएको छ। रास्वपा नेता डोलप्रसाद अर्यालले नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो भनेको बताए।
नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा छ।
यस्तै, जनमत पार्टीका अध्यक्ष सीके राउतले गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट सिकेर आउन प्रधानमन्त्री दाहाललाई सुझाव दिएको बताए ।
प्रधानमन्त्री दाहाल ३० भदौमा संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन अमेरिका जाँदैछन् भने महासभापछि त्यतैबाट चीन भ्रमणमा जाने कार्यतालिका छ।











