Kathmandu Press

सांसद सापकोटाद्वारा ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन

उनले भने, 'कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत छ।'
सांसद सापकोटाद्वारा ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन

काठमाडौँ, भदौ २३ : नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपालले भर्खरै ठूला पूर्वाधारको विकासमा हात हालेकामा केही आयोजनामा देखिएको असर जलवायु परिवर्तनकै कारण रहेको बताएका छन्।

बङ्गलादेशको ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’लाई सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपका जोखिम बढ्नुमा सोही कारण प्रमुख रहेको उल्लेख गरे। उनले भने, 'कमभन्दा कम वातावरणीय क्षतिमा विकास निर्माण र पूर्वाधारका काम अघि बढाउन सरकार र सम्बद्ध निकाय सचेत छ।'

दक्षिण एसियाका खासगरी तीव्र विकासमा अघि बढेका भारत र बंगलादेशको अनुभव नेपालका लागि काम लाग्ने उल्लेख गर्दै उहाँले नेपालले पूर्वाधार विकास तथा पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाएको जानकारी गराए। सांसद सापकोटाले नेपाल जलवायु परिवर्तनको उच्च जोखिम क्षेत्रमा रहेकाले त्यसबाट जोगिँदै अघि बढ्न छिमेकी र विश्व समुदायको दरिलो साथ आवश्यक रहेको बताए । 

तीन दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बङ्गलादेश र भुटानका गरी ४० सांसद सहभागी छन् । नेपालबाट सापकोटासहित नेपाली कांग्रेसका प्रदीपकुमार पौडेल, एमालेका ठाकुर गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोभिता गौतम तथा संसद्को पूर्वाधार विकास मितिका सचिव उदय भण्डारी सहभागी छन्।

 बङ्गलादेशले वातावरण परिवर्तनका असरबाट जोगिने उपायको खोजीका लागि संसद्भित्र छुट्टै ‘कलाइमेट पार्लियामेन्ट’ नामको संरचना निर्माण गरेको छ। बङ्गलादेशका सभामुख डा शिरिन शार्मिन चौधरीले उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि तथा विभिन्न देशका राजदूत सहभागी छन्।

प्रकाशित मिति: १६:१३ बजे, शनिबार, भदौ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्