संखुवासभा कैदी हत्या प्रकरण : सुरक्षा ईञ्चार्जसहित १५ विरुद्ध कर्तव्य ज्यान मुद्दा
थुनामा राखिएका कैदी विनोद तोलांगी र आकाश बलामीको गत २४ साउनमा हत्या गरिएको अभियोगसहित प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालय संखुवासभाले शुक्रबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो।
काठमाडौं, भदौ २३ : संखुवासभा कारागारमा दुई कैदीको हत्यालाई लिएर कारागारका तत्कालीन सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
थुनामा राखिएका कैदी विनोद तोलांगी र आकाश बलामीको गत २४ साउनमा हत्या गरिएको अभियोगसहित प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिल कार्यालय संखुवासभाले शुक्रबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो।
प्रहरी अनुसन्धानपछि सात प्रहरी र आठ कैदी गरी १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ। कर्तव्य ज्यान मुद्दा दायर हुने अभियुक्तहरुमा संखुवा सभा कारागारका तत्कालीन सुरक्षा इन्चार्ज चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानहरू सुमन गुरुङ, पवनकुमार महतो र मनीष राई छन्।
घटनाका बेला सुरक्षा गार्डका रूपमा रहेका दमनसिंह राई तथा नुसन राईविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । कारागारका कैदीबन्दीहरू राम कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारूमगर, टीकाराज चौहान, नवीनकुमार राई, इन्द्रध्वज घिमिरे, मीनबहादुर तामाङविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको जनाइएको छ। अभियुक्तको आइतबारदेखि जिल्ला अदालतमा बयान गराइने छ।
अनुसन्धानपछि साउन २४ गते राति कारागारबाट शौचालयको झ्याल फोडेर भाग्न खोजेको आरोपमा कैदीहरू संखुवासभा मादी नगरपालिका– ५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका– ७ का २८ वर्षीय आकाश बलामीलाई नियन्त्रणमा लिई कुटपिटपछि हत्या गरिएको निश्कर्ष निकालिएको छ।
कैदीबन्दीको शंकास्पद मृत्यु भएपछि स्थानीय र आफन्तले कारागार परिसरमा आन्दोलन समेत गरेका थिए । आफन्तले कारागारका सुरक्षा इन्चार्ज लक्ष्मी चौधरी र कारागार प्रमुख जेलर राजेन्द्र घिमिरेविरुद्ध किटानी जाहेरी दर्ता गरेका थिए।











