Kathmandu Press

मुख्यमन्त्री कार्की र तीन मन्त्रीले लिए शपथ

सर्वोच्च अदालतकाे परमादेशबाट संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्की ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुने छन्।
मुख्यमन्त्री कार्की र तीन मन्त्रीले लिए शपथ

मोरङ, भदौ २२ : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनियताको शपथ खुवाए।

सर्वोच्च अदलातको परमादेशअनुसार प्रदेश प्रमुख खापुङ एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्कीलाई शुक्रबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका थिए।

सर्वोच्च अदालतले बिहीबार दिएको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुने छन्।

निवर्तमान मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको पूर्ण सुनुवाइपछि जारी गरेको परमादेशको आधारमा प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित सर्वोच्चको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका नेताको नेतृत्वमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको थियो ।

कार्कीले आजै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। उनले एमालेका तिलकुमार मेन्याङ्वोलाई उर्जामन्त्री बनाएका छन् भने पाँचकर्ण राई वन र एकराज कार्की भौतिक पूर्वाधार मन्त्री बनाएका छन्। यस्तै, उनले एमालेकै सृजना राई सामाजिक विकास राज्यमन्त्री बनाएका छन्।

तीन जना मन्त्रीले आजै शपथ ग्रहण पनि गरेका छन्।

प्रकाशित मिति: १९:०४ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्