Kathmandu Press

वर्तमान संविधान बिपी विचारको उपज हो : राष्ट्रपति 

जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार ‘बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान’ कार्यक्रम राखेको थियो।
वर्तमान संविधान बिपी विचारको उपज हो : राष्ट्रपति 

काठमाडौ, भदौ २२ : राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान बीपी विचारको सार रहेको भनाई राखेका छन्।
राष्ट्रपति भवन शीतलनीवासमा शुक्रबार आयोजना गरिएको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन्। जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार ‘बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान’ कार्यक्रम राखेको थियो। 

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ट्रस्टका सदस्य एवम सांसद डा.शशांक कोइराला, पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला, ट्रस्टका महासचिव रामचन्द्र पोखरेल, सांसदहरु तथा विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुको समेत सहभागिता रहेको कार्यक्रममा राष्ट्रपतिबाट विपी दर्शनबारे लामो व्याख्या भएको हो।  

राष्ट्रपति पौडेलले वर्तमान संघिय लोकतान्त्रिक गणतान्त्रिक संविधानले गरेको समावेशी व्यवस्थासहितका मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको बताउँदै बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे। राष्ट्रपति पौडेलले भने, ‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं।’

पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन रमुलुकका समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक समृद्धी हासिल गर्न बीपीले अघि सारेको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको समेत बताए।

उनले बीपीको ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यम वर्गीय हैसियत’ भन्ने धारणा समानताको सिद्धान्तलाई मुर्तरूप दिने व्यवहारिक र ठोस दृष्टिकोण स्पष्ट भएको पनि बताए। बिपी राजनीति र साहित्यका एक अनुपम पुञ्ज रहेको बताउँदै राष्ट्रपति पौडेलले भने, ‘राजनीतिको कुनै प्रभाव साहित्यमा पर्न नदिइ आफू दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिनसक्ने बीपीको जस्तो यस्तो गुण विश्वका विरलै व्यक्तिमा पाइन्छ। त्यस्तो व्यक्तित्व पाउनु नेपालीका लागि गर्वको विषय हो।’

जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो संघर्षपूर्ण जीवन यात्रामा समर्पित विपी बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तराष्ट्रिय जगतमा रहेको पनि पौडेलले बताए। कार्यक्रममा बीपी साहित्य सम्मानबाट जनकपुरका डा राजेन्द्र बिमल पुरस्कृत भएका थिए।

उक्त पुरस्कारको राशि एक लाख एकहजार रुपैयाँ र सम्मानपत्र रहेको छ। यसैगरी बीपी प्रजातन्त्र सेनानी सम्मानबाट रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपाने पुरस्कृत भए। उक्त पुरस्कारको राशि ५१ हजार नगद र सम्मानपत्र रहेको छ। 

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, भदौ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्