खाँदबारी कारागारमा कैदी हत्या प्रकरण : १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

संखुवासभा, भदौ २२ : खाँदबारी कारागारमा भएको कैदी हत्या प्रकरणमा १२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
सरकारी वकिलको कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालत संखुवासभामा आज कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो। कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको थियो।
प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राई र अर्का सुरक्षा गार्ड मनीष राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो । त्यस्तै, कैदीहरु राम कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान, नवीनकुमार राई, ईन्द्रध्वज घिमिरे, मीनबहादुर तामाङविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो।
कारागारको झ्याल काटेर भाग्न खोजेपछि गत साउन २४ गते दुई कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको मृत्यु भएको थियो।
घटनालगत्तै गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानबिन टोली बनाएको थियो। मन्त्रालयले छानबिन टोलीलाई १० दिनभित्र कारागार घटनाको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।











