सर्वदलीय सरकार गठनका लागि हिक्मत कार्कीको आव्हान
मध्यावधि निर्वाचन चाहना र माग नभएको बताउँदै उनले सबै दलहरु मिलेर जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए ।
काठमाडौं, भदौ २१ : आफ्नो नेतृत्वमा सरकार गठन गर्न सर्र्वाच्च अदालतले परमादेश गरेलगत्तै कोशी प्रदेशसभामा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वदलीय सरकार गठनका लागि आव्हान गरेका छन्।
सर्वोच्चले बिहीबार मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सबैभन्दा ठूलो दलको नेताका हैसियतले कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
सर्वोच्चको परमादेशपछि कार्कीले सबै दलहरुलाई मिलेर सरकार गठन गर्न आव्हान गरेका हुन्। उनले भने, ‘राजनीतिक दलहरूबीचमा देखिएका अविश्वासका कुरा संवादबाट हल गर्नुपर्छ । सबै दलहरु मिलेर प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्नुपर्छ।’
मध्यावधि निर्वाचन चाहना र माग नभएको बताउँदै उनले सबै दलहरु मिलेर जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताए । उनले मध्यावधि चुनाव नमित्याउन एमाले गठनबन्ध गर्न तयार रहेको बताए।
सत्तारुढ गठबन्धनले संविधान र कानुन मिचेको कुरालाई सर्वोच्च अदालतले सच्याएको कार्कीले बताए । सर्वोच्चको फैसलालाई संविधान र कानुन मिच्ने राजनीतिक दलहरूका लागि सबक भएको पनि उल्लेख गरे।











