सीमा सुरक्षा र सहयोग प्रबर्द्धनमा सक्रिया भूमिका निर्वाह गर्छौं : प्रधानमन्त्री
उनले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतिहरूलाई राम्रोसँग सम्बोधन गर्नसकिने दृढ विश्वास पनि व्यक्त गरे।
काठमाडौं, भदौ २१ : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सीमापार सुरक्षा र सहयोग प्रवद्र्धनमा सक्रिय भूमिका खेल्ने बताएका छन्।
‘डिजिटल युगमा जहाँ अपराधीहरूले प्रविधिको दुरुपयोग गरी आफ्ना नराम्रा क्रियाकलापहरू सञ्चालन गर्छन्, त्यहाँ अन्तर्राष्ट्रिय प्रहरी सहयोगको महत्वलाई नकार्न सकिँदैन । यो विश्वव्यापी परिदृश्य र सम्बन्धित मुद्दाहरूमा चिन्तन गर्न आवश्यक छ,’ अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस र इन्टरपोलको १००औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री दाहालले भने, ‘विश्वले अभुतपूर्व चुनौतिहरूको सामना गरिरहेको छ, जसमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर खतरा र आतंकवादको वृद्धि समावेश छ। म सबै राष्ट्रहरूलाई विश्वव्यापी, क्षेत्रीय र उप–क्षेत्रीय स्तरहरूमा अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्न आग्रह गर्दछु।’
उनले अन्तर्राष्ट्रिय समकक्षहरूसँग सहकार्य गरेर विश्वव्यापी अपराधबाट उत्पन्न हुने बहुआयामिक चुनौतिहरूलाई राम्रोसँग सम्बोधन गर्नसकिने दृढ विश्वास पनि व्यक्त गरे।
अन्तर्राष्ट्रियस्तरमा संगठित अपराध, साइबर क्राइम र आतंकवादको वृद्धि भइरहेको भन्दै यसको नियन्त्रण गर्न आग्रह गरे। मानवअधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने भनाई प्रधानमन्त्रीको थियो। नागरिकहरु भयरहीत रुपमा बस्नसक्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको पनि उनले बताए।











