महेन्द्र यादवमाथि भएको आक्रमणको माओवादी केन्द्रकाे भर्त्सना
'आक्रमण गर्ने व्यक्ति कुनै दल विशेषको होइन भन्ने आएको छ, तर पनि उहाँले त्यहाँ व्यक्त गरेका विचार र नारा सुन्दा अहिलेको यो प्रणाली, संविधान, कतिपय राज्यका स्थापित मान्यतालाई सिधैँ अस्वीकार गरेर प्रतिकारस्वरुप आक्रमण गरेको कुरा प्रस्ट छ।'
काठमाडौँ, भदौ २१ : माओवादी केन्द्रका सचिव एवम् सांसद देवेन्द्र पौडेलले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भर्त्सना गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले भने, 'आक्रमण गर्ने व्यक्ति कुनै दल विशेषको होइन भन्ने आएको छ, तर पनि उहाँले त्यहाँ व्यक्त गरेका विचार र नारा सुन्दा अहिलेको यो प्रणाली, संविधान, कतिपय राज्यका स्थापित मान्यतालाई सिधैँ अस्वीकार गरेर प्रतिकारस्वरुप आक्रमण गरेको कुरा प्रस्ट छ।'
उनले वर्तमान व्यवस्था ल्याउनका लागि लामो सङ्घर्ष गरिएको भन्दै प्रणाली बचाउनका लागि पनि सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। अराजक प्रवृत्तिलाई राज्यको कानुनी कठघरामा ल्याएर कारबाही गर्नका लागि उहाँले जोडदार माग गरे।
पौडेलले पाँच वर्षे रोजिना गोपालीको उपचारको अभावमा मृत्यु भएकोप्रति दुःख व्यक्त गरे। डेङ्गु रोग नियन्त्रण गर्नका निम्ति स्वास्थ्य प्रणालीलाई सुधार गर्नुपर्ने उनको भनाइ छ। बैठकमा सांसद गणेश पराजुलीले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने अपराधीले कुनै पनि बहानामा उन्मुक्ति पाउन नहुने माग गरे।











