Kathmandu Press

कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार र कान्तिमा बालिकाको निधनबारे सदनलाई जानकारी गराउन रुलिङ

कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार र कान्तिमा बालिकाको निधनबारे सदनलाई जानकारी गराउन रुलिङ

काठमाडौं, भदाै २१ : सभामुख देवराज घिमिरेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहार र कान्ति बाल अस्पतालमा उपचार नपाएर पाँच वर्षीया बालिकाको निधन भएको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा शून्य समय र विशेष समयमा सांसदहरूको बोल्ने पालो सकिएपछि त्यस्तो रुलिङ गरेका हुन्। बैठकमा अधिकांश सांसदहरूले खुकुरी प्रहार र बालिका मृत्युकाे घटनाबारे सरकारकाे ध्यानाकर्षण गरेकाे भन्दै सभामुखले सरकारलाई त्यस्ताे रूलिङ गरेका हुन्।

बुधबार रिपोर्टर्स क्लवको कार्यक्रमबाट फर्केपछि कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण भएको थियो। खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम बहादुर सापकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ। यादवको ट्रमा सेण्टरमा उपचार भइरहेको छ। 

त्यस्तै उपचारका लागि कान्ति बाल अस्पताल लगिएकी मकवानपुर थाहा नगरपालिका १० की ५ वर्षीया बालिका रेजिशा गोपालीको सोमबार निधन भएको थियो। बिरामी भएर छटपटाइरहेकी बालिकालाई एक नम्बर पालेमा पर्दा पनि दुई घन्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको थियो। खर्च नभएको कारण देखाएर उनको उपचार नगरिएको बताइएको छ।

     

प्रकाशित मिति: १५:४५ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्