१२ दिन बित्दा पनि मेजर पण्डितको अत्तोपत्तो भएन

काठमाडौं, भदौ २१ : डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स ब्यारेकबाट सम्पर्कविहीन बनेका मेजर विमल पण्डित १२ दिनसम्म पनि फेला पर्न सकेका छैनन्।
पण्डित गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए। दुईजनाका साथमा ब्यारेकबाट निस्किएका पण्डितले उनीहरुलाई बीचबाटै फर्काएका थिए। सम्पर्कविहीन भएलगत्तै प्रहरी खोजी कार्यमा जुटे पनि १२ दिनसम्म केही पत्ता लागेको छैन।
सम्पर्कविहीन बनेको बेलुकादेखि मेजर पण्डितले मोबाइल समेत स्विच अफ गरेका थिए। ब्यारेकबाट निस्केका दिन बेलुका पन्तीसँग फोनमा कुराकानी गरेपछि मोबाइल स्विच अफ भएको पाइएकाे बताइएकाे छ। उनको खोजीका लागि प्रहरीले छिमेकी जिल्लामा हुलिया पठाएको छ। पण्डितले त्रिपुरा बजारमा एकजोर चप्पल किनेको तथ्य खुलेको छ।
डोल्पा, रुकुम, जाजरकोट, कालिकोट, जुम्लाबाट सम्भावित ठाउँमा खोजी भइरहेको जनाइएकाे छ। मेजर पण्डितले लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको बताइएको छ। मेजर पण्डित हराउनुकाे कारणा घरायसी झैझगडा पनि हुन सक्ने आकलन गर्न
थालिएको छ ।











