Kathmandu Press

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठक : चुच्चे नक्सा र प्रधानमन्त्रीकाे विदेश भ्रमणबारे कसले के भने?

अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठक : चुच्चे नक्सा र प्रधानमन्त्रीकाे विदेश भ्रमणबारे कसले के भने?

काठमाडाैं, भदाै २१ : सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले चीनको नक्सामा नेपालको पुरानै नक्सा राखिएको विषयमा कुटनीतिक तवरले वार्ता गर्नुपर्नेमा जोड दिएका छन्। बैठकमा सांसदहरुले नयाँ नक्साका बारेमा अन्य राष्ट्रहरुलाई जानकारी गराइएको विषयमा मन्त्री साउदसँग प्रश्न गरेका थिए।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको नक्साका बारेमा चीनलाई जानकारी गराएको विषयमा वर्तमान परराष्ट्रमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको कुरा बाझिएको भन्दै सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताए। उनले नक्साको विषय संवेदनशील रहेकाले नक्साबारे सत्यतथ्य कुरा सार्वजनिक हुनुपर्ने बताए।

'चीनलाई जानकारी गराएको विषयमा वर्तमान परराष्ट्रमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको कुरा बाझिएको छ । तत्कालीन परराष्ट्रमन्त्रीले एक्लाएक्लै गरेको हो कि आधिकारिक रूपमा पत्राचार गरेको हो ?,' उनले प्रश्न गरे, 'त्यतिबेला परराष्ट्र मन्त्रालयको अधिकारी पनि त बसेको होला ? मौखिक रूपमामात्रै हो कि लिखित रूपमा जानकारी गराएको हो ? सबै राजदूतहरूलाई जानकारी गराएको हो कि एउटालाई मात्रै हो ?'

त्यस्तै माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा अन्य मुलुकमा पत्राचार गरेको विषयमा भएको कमीकमजोरीका बारेमा समितिमा जानकारी गराउनुपर्ने बताए। उनले नेपालको आन्तरिक मामिलामा कुनै पनि राजदूतले टिप्पणी गर्ने परम्परा बस्न दिन नहुने धारणा राखे।

नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कुनै पनि कूटनीतिज्ञहरुलाई नभएको बताएका छन्। नेपालको घरेलु मामिलामा टिप्पणी गर्नेहरुलाई सरकारले सचेत गराउनु पर्ने बताउँदै उनले भने, ‘को राजदूतले, कहाँको राजदूतले भन्यो भन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले पनि टिप्पणी गर्ने या कोही छिमेकसँग या तेस्रो पक्षसँग नेपालको सम्बन्धको विषयमा अरुले टिप्पणी गर्ने परम्परा बसाल्न दिनै हुँदैन। यो बेठीक हो, अन्तर्राष्ट्रिय कुटनीतिमा पनि र हाम्रो कूटनीतिमा पनि।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले नक्सा छिमेकी र विश्व मञ्चमा प्रस्तुत गर्न के ले रोकेको भन्दै प्रश्न गर्दै उनले भने, 'नक्साको विषय संवेदनशील छ। हाम्रो नक्सा र भूगोलको अखण्डताको शपथ खाएका छौं। सदनबाट पारित भएपछि अन्य छलफल भएनभन्दा अखण्डता कता गयो, हाम्रो नक्सा छिमेकी र मञ्चमा गएर प्रस्तुत गर्न केले रोकेको छ? परराष्ट्र फेलिएर भएको हो ?,' उनले सोधे, 'अब भएन। कहिलेसम्म हुन्छ भनेर माग्नुपर्छ। स्पष्ट टाइमलाइनसहित फलोअप गर्नुपर्छ।' उनले चीनको राजदूतको कुरा संवेदनशील रहेको बताए र तुरून्तै नोट पठाउन सरकारलाई आग्रहसमेत गरे। 

एमाले सांसद भीम आचार्यले चीनको नयाँ नक्सामा चुच्चे नक्सा किन परेन भन्दै प्रस्ट्याउन माग गरे। 'चीनले प्रकाशित गरेको नक्सामा के कारणले नेपालको नक्सा परेन, त्यो प्रस्ट पार्नुपर्छ। हाम्रै पाे कमजोरी हो कि ?' उनले भने, 'भारत र चीनको सम्बन्धका कारण यस्तो भएको हो कि ?' उनले प्रधानमन्त्रीको भ्रमणअघि नै शान्ति प्रक्रियासम्बन्धी कानुन टुंगाएर जान पाए उपयुक्त हुने बताए।

आम जनता पार्टीका सांसद प्रभु शाहले प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा संसदीय सहभागिता जरूरी रहेको बताए। नाका ठप्प भएकाले चाँडो खुल्ने वातावरण बनाउनुपर्नेमा उनले जाेड दिए। नेमकिपाका सांसद प्रेम सुवालले नक्साको विषयमा पत्र नगएको भए सरकारले आजको आजै पठाउनुपर्ने बताए । उनले यूएन भ्रमणबाट नेपाल फर्किएर मात्रै चीन भ्रमण जान प्रधानमन्त्रीलाई सुझाए। ‘प्रधानमन्त्री युएनबाट सिधै चीन जाने कुरा मिल्दैन। बरु नेपाल आएर एक दिन बसेर जाँदा राम्रो हुन्छ,’ बैठकमा उनले भने, ‘अमेरिकाबाट सिधै चीन जाने कुराले राम्रो सन्देश दिँदैन।’

राप्रपाका सांसद एवं महामन्त्री धवलशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विदेश भ्रमणमा जाँदा अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे सल्लाह र सुझाव लिएर जाँदा राम्रो हुने बताए। ‘प्रधानमन्त्रीले भ्रमणमा समितिको सल्लाह र सुझाव लिएर जाँदा राम्रो हुन्थ्यो,’ उनले भने, ‘अहिले चिनियाँ राजदूतले बोलेको जस्तो विषयमा अन्य मुलुकले पनि बोल्न थाले गम्भीर अवस्था आउन सक्छ।’

मन्त्री साउदले भने यस विषयमा मन्त्रालयले कूटनीतिक नोट जारी गरिएको जानकारी गराएका थिए।  मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा कार्यान्वयन गर्न सकिने परियोजनामा छलफल गर्ने तयारी भएपनि औपचारिक रुपमा एजेण्ड तय नभएको जानकारी गराएका हुन्।

उनले चीनले नेपाललाई सहयोग अनुदान गर्दै परियोजनामा रकम विनियोजन हुन नसकेको र विनियोजनका लागि अर्थ मन्त्रालयसँग गम्भीर गृहकार्य गरिरहेको पनि जानकारी दिए। मन्त्री साउदले चीन भ्रमणका बेला नेपालसंग जोडिएका नाकालाई सहज रुपमा सञ्चालनका लागि पनि छलफलको एजेण्डा बनाउने तयारी भएको बताए।

त्यस्तै उनले नेपालको संसदले पारित गरेको नयाँ नक्साको सम्मान चीनले गर्नुपर्ने उल्लेख गरे। नयाँ नक्सा जारी भइसकेपछि पनि यस विषयमा चीनलाई जानकारी गराएको औपचारिक रेकर्ड फेला पर्न नसकेको उनको भनाइ छ। चीनलाई पत्राचार गरिएको जानकारी आए आफू आभारी हुने समेत उनले बताए।

 

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्