उपचार नपाएर कान्तिमा बालिका मृत्यु प्रकरणमा सांसदहरूले मागे सरकारसँग जवाफ
उपचारका लागि कान्ति बाल अस्पताल लगिएकी मकवानपुर थाहा नगरपालिका १० की ५ वर्षीया बालिका रेजिशा गोपालीको सोमबार निधन भएको थियो।
काठमाडौं, भदौ २१ : कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयमा प्रतिनिधिसभामा सांसदहरूले प्रश्न उठाएका छन्। बुधबारकाे प्रतिनिधिसभा बैठकमा उनीहरूले त्यसबारे सरकारको जवाफ पनि मागेका छन्।
उपचारका लागि कान्ति बाल अस्पताल लगिएकी मकवानपुर थाहा नगरपालिका १० की ५ वर्षीया बालिका रेजिशा गोपालीको सोमबार निधन भएको थियो। बिरामी भएर छटपटाइरहेकी बालिकालाई एक नम्बर पालेमा पर्दा पनि दुई घन्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको थियो। खर्च नभएको कारण देखाएर उनको उपचार नगरिएको बताइएको छ।
सत्तारुढ दल कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले बालिकाले उपचार नपाएर मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै के कारणले त्यस्ताे भयाे भन्ने विषयमा सरकारको जवाफ दिनुपर्ने बताए। उनले यस्तो अवस्था किन आयो र अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्नेमा पनि जाेड दिए।
त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले यस घटनाबारे स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्। उनले यो घटनामा संलग्नमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्ने उनकाे भनाइ थियाे। त्यस्तै रास्वपाकी सांसद चन्दा कार्कीले उपचार नपाएर बालिकाकाे मृत्यु भएकाे घटना लज्जास्पद रहेकाे बताइन्। ङटनाका दोषीहरूलाई कारबाही हुनुपर्नेमा उनले जाेड दिइन्। उनले अस्पतालमा पर्याप्त चिकित्सकहरू नहुँदा उपचार नपाउने अवस्था आएको बताउँदै त्यस्ताे अवस्था अन्त्य गर्न र चिकित्सकहरूको पर्याप्त व्यवस्था गर्न सरकारसँग माग गरिन्।
रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले नेपालले अवलम्बन गर्दै आएको र अभ्यासमा रहेको सिस्टमको असफलताको कारण कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको बताइन् । सरकारले त्यसप्रति ध्यान नदिनु नै ठुलो गल्ती भएको उनले जिकर गरिन्।











