कांग्रेस सहमहामन्त्री आईसियूमा राखेर थप उपचार गरिँदै
गहिरो घाउ भई रक्तश्राव भएको बताउँदे डा. रिजालले सिटी स्क्यान गर्दा हालसम्म आन्तरिक चोट नदेखिएको जनाए।
काठमाडौं, भदौ २० : बुधबार दिउँसो भृकुटीमण्डमा खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवलाई ट्रमा सेन्टरमा आइसियुमा राखेर थप उपचार गरिँदै छ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले उनलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको बताएका छन्।
यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो। गहिरो घाउ भई रक्तश्राव भएको बताउँदे डा. रिजालले सिटी स्क्यान गर्दा हालसम्म आन्तरिक चोट नदेखिएको जनाए।
‘उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरीर अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
पूर्वमन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा एक पुरूषले पछाडिबाट खुकुरी प्रहार गरेका थिए। नुवाकोट घर भई काठमाडौंको बालाजु बस्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए।











