वामदेव गौतम भन्छन्– प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितसँग माफी माग्नु पर्छ
‘म माओवादी केन्द्रमा जान सक्दिनँ। किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए,’ उनले भने।
काठमाडौं, भदौ २० : पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका पीडितसँग माफी माग्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री दाहालले जनयुद्ध पीडितका घरघरमा पुगेर माफी नमागेसम्म आफूले माओवादी प्रवेश सोच्नसम्म पनि नसक्ने बताए।
‘म माओवादी केन्द्रमा जान सक्दिनँ। किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए,’ उनले भने। प्रधानमन्त्री दाहालले राजनीतिक व्यक्तिको हत्या गल्ती थियो भनेर स्वीकार गरे सोच्न सकिने बताए।
‘राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ।’
गौतमले आफू एमाले र एसमाजवादीमा समाहित हुन तयार भएको बताए। उनले भने, ‘हामी नेपालको सबै कम्युनिष्टबीच एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन। म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु।’
उनले एमालेले ७० वर्ष उमेर हद हटायो भन्ने कुरा साँचो नभएको भन्दै उमेर हद भनेको संविधानको धारा २४ को विरुद्धमा भएको टिप्पणी गरे। उनले समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे।











