शशांक कोइरालाले भने– देउवा समूहबाट सभापति उम्मेदवार बन्न सक्छु
‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु।’
चितवन, भदौ २० : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति शेरबहादुर देउवाको समूहबाट सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन्।
भरतपुर विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले देउवा समूहबाट सभापति उम्मेदवार बन्नेबारे टुंगो भने नलागिसकेको बताए।
पत्रकारहरुले पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा सोधेको प्रश्नमा उनले ‘सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ?’
आफूलाई सभापति देउवाले सभापतिको उम्मेदावरका विषयमा केही नभनेको कोइरालाले बताए। सभापतिको उम्मेदवारीको विषयमा पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै निर्णय लिने उनको उल्लेन गरे।
‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ,’ उनले भने, ‘पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु।’











