‘भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीका पक्षमा जीवनपर्यन्त लडिरहन्छु’
गोर्खालीको तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा जे-जस्तो विभेद विद्यमान छ, त्यो गेसोको मात्र नभएर सिङ्गो नेपाल र नेपाल सरकारको सरोकार र दायित्व भएको भन्दै त्यसको पक्षमा आफूले पहल लिने बताए।
काठमाडौं, भदौ १९ : प्रधानमन्त्री पुष्पकमल दाहालले भूतपूर्व गोर्खा सैनिकको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको रक्षाको निम्ति आफू जीवनपर्यन्त लडिरहने बताएका छन्।
गोरखा भूतपूर्व सैनिक संघले आयोजना गरेको एक कार्यक्रममा उनले ब्रिटिस सेनामा भर्ती भएकामध्ये गोर्खालीको तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा जे-जस्तो विभेद विद्यमान छ, त्यो गेसोको मात्र नभएर सिङ्गो नेपाल र नेपाल सरकारको सरोकार र दायित्व भएको भन्दै त्यसको पक्षमा आफूले पहल लिने बताए।
‘भूतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रियस्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो, विश्वभरि रहेका नेपालीको हकहितका निम्ति राज्यले यस्ता मुद्दा अन्तर्राष्ट्रिय फोरममा उठाउनुपर्छ र त्यसमार्फत सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रष्ट छु,’ उनले भने।
यस्तै, जलवायु परिवर्तनका कारण नेपालले सामना गर्न परिरहेको बहुआयामिक असरको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्ने उनको भनाइ थियो।











