Kathmandu Press

कोशी प्रदेश सरकार विवादको मुद्दा मंगलबार पनि हेर्दाहेर्दामा, अर्को सुनुवाई बिहीबार

न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन।
कोशी प्रदेश सरकार विवादको मुद्दा मंगलबार पनि हेर्दाहेर्दामा, अर्को सुनुवाई बिहीबार

काठमाडौं, भदौ १९ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ। आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो।

न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा आज सुनुवाइ प्रारम्भ भए पनि समयाभावका कारण पूरा हुन सकेन। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले पर्शुराम खापुङ, मुख्यमन्त्री थापालगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो। उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो।

मंगलबार कोशी सरकारको बचाउमा बहस गर्दै सरकारी वकिलले मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत् रहेको दाबी गर्दै रिटको औचित्य नरहेको बताएका छन्।

सर्वोच्चका तीनजना न्यायाधीश संलग्न पूर्ण इजलासमा भएको सुनुवाइका क्रममा प्रदेश सरकार र प्रदेश प्रमुखको तर्फबाट महान्यायाधिवक्ता डा।दिनमणि पोखेल, नायब महान्यायाधिवक्ताद्वय विश्वराज कोइराला र संजीवराज रेग्मी, सह न्यायाधिवक्ता गोविन्द खनालले बहस गरेका थिए।

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्