फेरिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप
काठमाडौं, फागुन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्दा प्रायः देखिने गरेको थियो, ट्याक्सी चालकको तछाडमछाड, आगमन र प्रस्थान कक्षमा अत्यधिक ....

काठमाडौं, फागुन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्दा प्रायः देखिने गरेको थियो, ट्याक्सी चालकको तछाडमछाड, आगमन र प्रस्थान कक्षमा अत्यधिक भीडभाड, फोहोर शौचालय, भूइँमै बसिरहेका यात्रु।
केही सयमयता त्रिभुवन विमानस्थल छिर्नु भएको छैन भने त्यहि दृश्य याद आउनेछ। तर, अहिले त्यस्तो छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप फेरिँदै गएको छ।
विमानस्थलको प्रवेशद्वार (गोल्डेन गेट)बाट भित्र छिर्नासाथ फेरिएको दृश्य अनुभुत गर्न सकिन्छ। विमानस्थलभित्र पस्न र फर्कनका लागि छुट्टाछुट्टै गेट, व्यवस्थित रुपमा राखिएका ट्याक्सी तथा नीजि बसहरू, बाटोको दुवैतिर फुलिलरहेको विभिन्न फूल, भित्र छिर्नासाथ देखिने फाउन्टेन फेरिएका दृश्य हुन्।
विमानस्थलको सजावटसँगै अध्यागमन विभागले पनि नयाँ स्वरुप पाएको छ। बोर्डिङ पास लिनका लागि घन्टौँ उभिनु पर्ने अवस्था अन्त्य भएको विभागका महानिर्देशक ईश्वरराज पौडेल बताउँछन्। अहिले अध्यागमनले पूराना सामग्रि हटाएर नयाँ राखिएको छ। ‘२५ वर्ष पूराना सबै सामाग्रीहरु निकालेर नयाँ स्वरुपमा अत्याधुनिक उपकरणहरुरु जडान गरेका हौँ,’ उनले भने, ‘नयाँ उपकरणवाट सेवा प्रवाहमा सहज भएको छ।’
अहिले सुरक्षा प्रणाली पनि राम्रो बनेको छ। ‘अध्यागमनको सुरक्षा फितलो हुँदा विदेशबाट अनाधिकृत रुपमा भन्सार छलि गरेर सामान भित्रिएको आरोप लाग्ने गरेको थियो,’ महानिर्देशक पौडेल भन्छन्, ‘अध्यागमन विस्तारसँगै अब भुसुना समेत छिर्न नसक्ने बनाएका छौँ। बायोमेट्रिक प्रणालीबाट सुरक्षा जाचँ हुन्छ, सबै सामान हामीले सहज देख्न सक्छौँ।’
पहिले अध्यागमन कार्यालयको सुरक्षामा निकै चुनौति रहेको थियो। अहिले अध्यागमन सूचनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरूको टोलीले बनाएको ‘नेपाली पोर्ट’ सफ्टवेयर सञ्चालनमा आएको छ। यसले कामकारबाहीमा सहज भएको उनी बताउँछन्।
उनका अनुसार अध्यागमन सुधारका लागि विभिन्न आठ वटा पोजेक्ट तयार गरेर सुधार गरिएको छ। विभागले तयार पारेका आठ प्रोजेक्टमा नेपाली पोर्ट, डाटा सेन्टर स्थापना, अत्याधुनिक कम्प्युटर, पूर्वाधारमा परिर्वतन, नेर्ट वर्किङ, ल्याब र सबैका लागि तालिम हो।
‘अध्यागमन सुधारमा हाम्रो पहिलो उपलब्धि नै नेपाली पोर्ट हो,’ महानिर्देशक पौडेलले भने, ‘पोर्टको निर्माणपछि नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीहरूको बायोमेट्रिक इन्फरमेसन, फिंगरप्रिन्ट र फोटोसमेत प्रणालीमा राखिएको छ। राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोलसम्बद्ध सूचना सबै यहि पोर्टवाट हेर्ने गरिएको छ।’
यो पोर्ट माघ १३ गते उद्घाटन गरिएको थियो। एक वर्ष लगाएर पोर्ट निर्माण गरिएको विभागले जनाएको छ।
२५ करोड खर्च
विभागले तयार पारेको अध्यागमन सुधारका आठ प्रोजेक्टमा अनुमानित लागत २७ करोड रहेको थियो। योजनामा रहेका कामहरु गर्दै जादा अहिलेसम्म २२ करोड रुपैयाँ खर्च भएको महानिर्देशक पौडेलले बताए।
विभागले हेटौडाँमा डाटा सर्भर निर्माणको तयारी गरिरहेको छ। त्यो काम सकिँदा २५ करोड खर्च हुने अनुमान गरिएको उनले बताए।
त्यस्तै, हेटौडामा डिजास्टरको अर्काे डाटा सेन्टर स्थापना गरिँदै छ। त्यो तयार भएपछि विमानस्थलमा भएको डाटासमेत उसले कभर गर्नेछ। यताको डाटा केही कारणले क्षति भएमा हेटौंडाको डाटाले कभर गर्ने उनले बताए। ‘हामी डाटामा स्ट्रोङ छौँ,’ उनले भने, ‘अन्य सरकारी कार्यालयको डाटाको सर्भर जाने र ह्याक हुने समस्या देखएपनि हाम्रोमा त्यस्तो समस्या आएको छैन।’
विदेशी नक्कली मुद्रादेखि अन्य सामग्रीको परीक्षणका लागि बेलायतबाट ल्याएको मेसिन ल्याबमा सञ्चानलमा छ। जसमा डेढ करोड परेको थियो।
त्यस्तै, नेपाल भ्रमण वर्ष सचिवालयसँग समन्वय गरेर आगमन र प्रस्तानमा लाइन व्यवस्थापनका लागि नेपाली सेनाका पूर्वजवानलाई खटाइएको छ। अहिले १४ जनाले व्यवस्थापनको काम गर्दै आएका छन्।
के गर्छ नेपाली पोर्टले?
नेपाली पोर्टले नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायोमेट्रिक सूचना अर्थात् विदेशीहरुको आँखाको रेटिना, औँठाछापा, तस्बिर संकलन गर्छ।
जसले गर्दा व्यक्ति र उसको कागजात सही भए/नभएको जाँच गर्छ। सरकारका सम्बद्ध निकायका सूचनाहरुजस्तै राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी) र इन्टरपोल सम्बद्ध सूचनाहरु एकआपसमा पोर्ट प्रणालीमार्फत हेर्न मिल्ने गरी अन्तराबद्धताको व्यवस्था गरिएको छ।
विदेशस्थित नियोगहरुबाट समेत यसै प्रणालीमार्फत भिसा जारी हुने भएकाले नेपालको भिसा दुरुपयोग तथा राजस्व चुहावट हुने सम्भावनाको अन्त्य भएको विभागले जनाएको छ। त्यस्तै भिसाको आवेदन अनलाइनमार्फत नै गर्ने र विकल्पको रुपमा मोबाइल एप्लिकेसनको विकास हुँदा भिसा आवदेन गर्न लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने विभागले जनाएको छ।
विदेशी नागरिकको नेपाल बसाइको अनुगमन गर्ने र आन्तरिक बसाइको ट्याकिङ गर्ने छुट्टै मोडल विकास गरिएको छ। भिसा शुल्कसमेत अनलाइनमार्फत तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली विकास गरिएको छ। पोर्ट उच्च क्षमताको नेटवर्क, विद्युत् आपूर्तिको स्वचालित वैकल्पिक प्रबन्धसहित २४सै घन्टा सञ्चालन हुने गरेको छ।
विभागले शंकास्पद यात्रु तथा सामग्री छुट्याई अनुसन्धान अघि बढाउन आइसोलेसन कक्षसहित कार्यकक्षहरुको डिजाइन गरेको छ। विमानस्थलमा शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरणसहितको फर्जरी डिटेक्सन ल्याबको स्थापना गरेको छ।












-(7)-1765197040.jpg)