निजामती ऐन कर्मचारीको पक्षमा हुनुपर्छ : सांसद् खतिवडा
उनले धेरै वर्षपछि निजामती ऐन आउन लागेको भन्दै सबैजना अटाउने र सबैलाई समेट्ने गरी ऐन आउनुपर्ने बताए।
काठमाडौं, भदौ १९ : नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले निजामती ऐन कर्मचारीको पक्षमा हुनुपर्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित उनले धेरै वर्षपछि निजामती ऐन आउन लागेको भन्दै सबैजना अटाउने र सबैलाई समेट्ने गरी ऐन आउनुपर्ने बताए।
‘धेरै वर्ष पछाडि निजामती ऐन आउँदैछ, तर यो सिन्डिकेटका आधारमा आउनु हुन्न कर्मचारीको पक्षमा हुनुपर्छ, हामी तपाईंहरूको पक्षमा लड्छौं,’ उनले भने, ‘कर्मचारी ऐन सबैजना अटाउने र सबैलाई समेट्ने खालको हुनुपर्छ। त्यसमा राज्य व्यवस्था समितिको सभापतिको हैसियतमा सबैसँग समन्वय गरेर काम गर्नेछु।’
खतिवडाले पार्टीमा एकले अर्कोलाई गाली गरेर पार्टी दरो नबन्ने भन्दै बाहिर पार्टीका नेताको आलोचना नगर्ने हो भने आधा समस्या समाधान हुने दाबी गरे। उनले सरकारले जनतालाई सुशासनको अनुभूति दिन सक्नुपर्ने बताए।











