कागबेनीलाई व्यवस्थित र उन्नत ढंगले पुनर्निर्माण गर्ने गृहमन्त्रीको प्रतिबद्धता
मुस्ताङ धार्मिक र पर्यटनको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताएका श्रेष्ठले त्यहाँको भौतिक संरचनाको पूर्ननिर्माण गर्दा पहिलेको भन्दा व्यवस्थित र उन्नत बनाउने जिकिर गरे।
काठमाडौं, भदौ १९ : मुस्तातङको बाढी ग्रस्तक्षेत्र पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनी बस्तीलाई पहिलेभन्दा व्यवस्थित र उन्नत ढंगले पुनर्निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थलगत निरिक्षण गर्न पुगेका गृहमन्त्री श्रेष्ठले कागबेनीमा बाढीले क्षति पुर्याएका भवन, सडक, पुललगायतका भौतिक संरचनाको महत्व र तत्कालको आवश्यकताको आधारमा तीनै तहका सरकारसँग समन्वय गरी मुख्य योजना बनाएरै पुनर्निर्माणमा लाग्ने बताए।
‘तत्कालै गर्नुपर्ने केही कामहरु र कागबेनी बस्तीको पुनर्निर्माणको कामलाई मुख्य योजनामा पार्ने छौं। संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका संयन्त्रसँग समन्वयात्मक ढंगले काम अगाडि बढाइने छ। त्यसमा हामी गम्भीर रुपमा लाग्ने छौं,’ उनले भने।
मुस्ताङ धार्मिक र पर्यटनको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताएका श्रेष्ठले त्यहाँको भौतिक संरचनाको पूर्ननिर्माण गर्दा पहिलेको भन्दा व्यवस्थित र उन्नत बनाउने जिकिर गरे।
‘यो ऐतिहासिक बस्ती कागबेनी तिर्थस्थल र यो पर्यटनको केन्द्रलाई हिजो जुन स्थिति थियो त्यो भन्दा व्यवस्थित, त्यो भन्दा उन्नत ढंगले पुर्नस्थापित र पुर्ननिर्माणको दिशातिर लैजाने कुरामा गम्भीरतापूर्वक आवश्क कदम चाल्न पहल कदमी लिनेछौं,’ गृहमन्त्रीले भने।
गत साउन २८ गते गेगरसहित गएको बाढीका कारण त्यहाँ ठुलो क्षति भएको थियो।











