मलाई कथाले आकर्षित गर्छ : अभिनेत्री कोइराला

काठमाडौँ, भदौ १८ : अभिनेत्री मनीषा कोइराला नेपाली चलचित्रमा नदेखिएको लामो समय भइसकेको छ।
नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गर्नुभएकी अभिनेत्री कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त छन्। उनले हालै सम्पन्न एक छलफलमा नेपाली चलचित्रको विषयवस्तुले आकर्षण गरे अभिनय गर्ने बताइन्।
'नेपाली चलचित्रमा काम गर्ने इच्छा नभएको होइन। तर समय र परिस्थिति मिलेको छैन। राम्रो कथाले मलाई पक्कै आकर्षित गर्छ,' अभिनेत्री कोइरालाले भनिन्। उनले चलचित्रको कथा माटो सुहाउँदो हुनुपर्नेमा जोड दिइन्। पछिल्लो समय नेपाली चलचित्र र शृङ्खला जोडिन चाहिरहेको ओभर दी टप (ओटिटी) मा स्थानीय कथा नै खोजिने उनले बताइन्।
'मैले ओटिटीमासमेत काम गरेकी छु। त्यो माध्यमले विश्वभरका दर्शकलाई सुविधा दिन्छ। ओटिटीका सञ्चालक जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन्', अभिनेत्री कोइरालाले भनिन्, 'अन्तर्राष्ट्रियस्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँकोे संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन् दर्शक। त्यसैले देशको माटो सुहाउँदो चलचित्र बनाउन जरुरी छ।'
उनले आफूले अभिनयको सुरुआत गरेको समय नब्बेको दशकमा अवास्तविक प्रस्तुति रुचाइने भए पनि अहिले वास्तविकता चित्रण गर्ने अभ्यास बढेको र दर्शकले रुचाइरहनुभएको बताउनुभयो। उनले भनिन्, 'प्रस्तुतीकरण जति वास्तविक भयो, दर्शकले त्यति मन पराउँछन्। अभिनय जति धेरै वास्तविक हुनसक्यो त्यति राम्रो मानिन थालेका छन्। अहिले अभिनय गर्दा आँखामा आँशु जरुरी छैन, आँखामा पीडा देखिनुपर्यो।'
कथा शैलीमा आएको बदलावलाई ओटिटीले बढावा दिएको कोइरालाको बुझाइ थियो। 'विशेषत कलात्मक चलचित्रले व्यावसायिकरुपमा चलचित्र भवनमा बलियो उपस्थिति जनाउन नसक्दा ओटिटीले प्रोत्साहन गर्नुका साथै लगानी सुरक्षित गरिदिएको छ', उनले भनिन्, 'यसको फलस्वरुप आफूलाई स्थापित गर्नेलाई हौसला मिलेको छ।'












