काठमाडाैं प्रशासनकाे बालेन लक्षित विज्ञप्ति- कानुनका दृष्टिमा सबै समान छन्, जथाभावी वक्तव्यबाजी नगर्नू
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन पनि भनेको छ।
काठमाडौं, भदौ १८ : जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले कानुनको दृष्टिमा सबै समान रहेको जनाउँदै जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरी कुनै गुनासो भएमा तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन पनि भनेको छ।
काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ट्राफिक प्रहरीबाट आफ्नो परिवारमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै ‘सिंहदरबार जलाइदिने’ भनी अभिव्यक्ति दिएको पर्सिपल्ट जिप्रकाले विज्ञप्ति जारी गरेर त्यस्तो अनुरोध गरेको हो। तथापि जिप्रकाले जारी गरेको विज्ञप्तिमा मेयर बालेनको नाम भने उल्लेख छैन। लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा असल मनशायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। यसर्थ आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नुरनगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्याउन पनि अनुरोध गरेको छ। ‘हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ । प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो। चालकसँग सवारी पास नभएकाले अबदेखि सवारी पास बोकेर हिंड्नू भन्दै ट्राफिक प्रहरीले छाडिदिएका थिए। सो घटनाबाट आक्रोशित भएका बालेनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत फोन गरेर आक्रोश पोख्नुका साथै सिंहदरबारमा आगो लगाइदिने भन्दै धम्कीपूर्ण स्टाटस सामाजिक सञ्जालमा राखेका थिए। धम्कीको चौतर्फी आलोचना भएको थियो। उक्त स्टाटस अहिले फेसबुकबाट हटाइसकिएको अवस्था छ।
जिल्ला प्रशासनले सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने नियमसमेत स्मरण गराएको छ।











