समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
एमालेका सचेतक महेश बर्तौलाले कोरोना बिमाको रकम उपलब्ध गराउन सरकारसँग माग गरे।
काठमाडौं, भदौ १८ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गरे।सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गलगायत क्षेत्रका सडकको मर्मत सम्भार गर्न माग गरे।
सांसद अब्दुल खानले बर्दियाबाट ३५ वटा सीमास्तम्भ हराएको उल्लेख गर्दै विगतदेखिकै सरकार मौन बस्दै आएकामा आपत्ति जनाउनुभयो । उहाँले सीमास्तम्भ हराउने र बगाउने कुराको निदान गर्नुपर्ने बताए।
सांसद खानले नीतिगतदेखि उपभोक्ता समितिसम्म भ्रष्टाचार बढेको जनाउँदै भ्रष्टाचारका विरुद्ध प्रभावकारी रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए।
एमालेका सचेतक महेश बर्तौलाले कोरोना बिमाको रकम उपलब्ध गराउन सरकारसँग माग गरे। उनले सरकार कुम्भकर्ण भएको आरोप लगाउँदै बिमितले पाउनुपर्ने रकम सरकारबाट प्राप्त गर्ने गरी विशेष रुलिङ गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरे।











