Kathmandu Press

लम्पी स्किन रोग नियन्त्रणमा आएको छ : मन्त्री भुसाल

अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा ९ लाख १९ हजार चार सय १६ पशुलाई लगाई सकिएको सो अवसरमा जानकारी दिइयो।
लम्पी स्किन रोग नियन्त्रणमा आएको छ : मन्त्री भुसाल

काठमाडौँ, १७ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले  गाईभैँसीमा महामारीका रुपमा देखिएको लम्पी स्किन रोग नियन्त्रणमा आएको बताएका छन्।

सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गाईवस्तुमा ठूलो संक्रमणका रुपमा देखिएको लम्पी रोग पछिल्ला दिनमा घट्ने क्रममा रहेको बताए।

सरकारले लम्पी स्किन रोगको उपचार र रोकथामका लागि सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरेको जनाउँदै मन्त्री भुसालले रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी लगाउने व्यवस्था गरिएको उल्लेख गरे।

अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएकामा ९ लाख १९ हजार चार सय १६ पशुलाई लगाई सकिएको सो अवसरमा जानकारी दिइयो।

पत्रकार सम्मेलनमा उपचारपछि निको हुने सङ्ख्या बढ्दै गएको र बिरामी भएका १५ लाख १९ हजार सात सय ७९ मध्ये १३ लाख ९३ हजार पाँच सय ९५ निको भएको तथ्यांक प्रस्तुत गरियो। मन्त्रालयका अनुसार, अहिले मुलुकका विभिन्न जिल्लामा अझै ७३ हजार ६ सय ३६ पशु बिरामी अवस्थामा रहेका छन्।

महामारीका रुपमा रहेको लम्पी स्किनबाट ५२ हजार पाँच सय ४८ पशुको मृत्यु भइसकेको छ। उक्त रोगबाट पशुको मृत्यु भएर क्षति व्यहोर्न परेका किसानलाई राहत उपलब्ध गराउन मापदण्ड तयार गरी सहमतिका लागि अर्थ र गृह मन्त्रालयमा पठाइएकामा अब छिट्टै निर्णय हुने मन्त्री भुसालले बताए।

 

प्रकाशित मिति: १८:५० बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्