साहित्य महोत्सवमा गीतसंगीतको चर्चा

पाटन (ललितपुर), भदौ १७ : त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा गीतसंगीतका विषयमा छलफल गरिएको छ। ‘गीतमा के भइरहेको छ?’ सत्रमा गीतकार एसपी कोइराला, उन्नती बोहोरा ‘सिला’ र हर्क साउदले छलफल गरे।
रेडियो नेपालकालीन समयदेखि नै गीत रचना गरिरहेका गीतकार कोइरालाले रेकर्डिङका समयमा खेप्नुपरेका समस्याबारे चर्चा गरे। 'एउटा गीत रेकर्ड हुँदै थियो। आधातिर पुगेपछि बाँसुरी बजाउनेलाई खोकी लागेपछि उक्त रेकर्ड नै दोहोर्याएर गर्नुपर्यो', उनले भने, 'अहिले गीतसंगीतका क्षेत्रमा प्रविधिले निकै परिवर्तन ल्याएको छ।'
गीत उद्योगका रुपमा विकास हुँदै गएको बताउँदै कोइरालाले पछिल्लो समय धेरै गीतकार बजारमा आएका बताए। गीतकारहरु सङ्गठित भएका भन्दै गीतकारको लगानीको प्रतिफल भने सुरक्षित हुन नसकेको उनले बताए।
गीतकार उन्नति बोहोरा‘सिला’ले आफूलाई चिनाउने गीत ‘फर्की आऊ शान्ति तिमी’ को प्रसङ्ग स्मरण गरिन्। उनले भनिन्, 'तत्कालीन समयमा देशको शान्तिसुरक्षा खलबलिएका बेला यो गीतको रचना गरेको थिए। त्यसपछि धरतीको सन्देश लेखेँ। राष्ट्रियताको गीतले शान्तिको आह्वान गरेको थियो।' गीत लेख्न गहिरो चिन्तन र साधना चाहिने उनले अनुभव साटिन्।
अहिलेको पुस्तामा लोकप्रिय गीतकार हर्क साउदलाई चिनाउने गीत ‘सुन साइँली’ हो। उनले यसलाई २० मिनेटमै तयार गर्नुभएको थियो। 'म गीत रचना अगाडि भिडिओका बारेमा बुझ्छु र त्यहिँ भावमा शब्द कोर्छु। एउटा गीत लेख्न छ महिनासम्मको समय पनि लिएको छु', गीतकार साउदले भने।












