Kathmandu Press

द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन

द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन

काठमाडौं, भदौ १७ : संयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कंदै छन्।

भ्रमणका क्रममा उहाँले नेपाल र अमेरिकाबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, युवा, सांसद र उद्यमी, दूतावासका कर्मचारीलगायतसँग भेटवार्ता र बैठक गरेका थिए। 

सिनेटर होलेनले मुलुकमा स्वास्थ्य, विद्युत्, यातायात, पूर्वाधारलगायत क्षेत्रमा सञ्चालित अमेरिकी परियोजनाबारे चासो व्यक्त गर्दै ती कार्यबाट आफू सन्तुष्ट रहेको बताए। नेपालका ऐतिहासिक सांस्कृतिक सम्पदाको समेत अवलोकन गर्नुभएका उनले आज बौद्धनाथ स्तुपा अवलोकनपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उल्लेख गरे।

सिनेटर होलेनले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७६औँ वर्षका अवसरमा दुई देशबीचको सम्बन्ध थप वृहत र सुमधुर बनाउने तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल भ्रमण गरेको उल्लेख गरे। यसअघि सन् १९८० मा आफूले नेपालको भ्रमण गरेको स्मरण गर्दै उनले त्यस अवधिमा नेपालमा धेरै परिवर्तन र उपलब्धि भएको आफूले पाएको सुनाए।

सिनेटर होलेनले  अमेरिका र नेपालबीचको राजनीतिक, आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न व्यक्तित्वसँग भेटवार्ता गरेको उल्लेख गर्दै भ्रमण निकै राम्रो र फलदायी भएको बताए। 

नेपालको कलिलो र जीवन्त लोकतन्त्र निकै महत्वपूर्ण भएको बताउँदै उनले अमेरिकाले नेपालको लोकतन्त्र सृदृढिकरणमा सदैव साझेदारी गर्दै आएको चर्चा गरे। नेपाल भ्रमणपछि सिनेटर होलेनले श्रीलङ्का र माल्दिभ्सको भ्रमण गर्ने बताइएको छ। आफ्नो भ्रमणका क्रममा उनले ती राष्ट्रहरूसँग पनि द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन विभिन्न व्यक्तित्वसँग भेटवार्ता गर्नेछन्।

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्