दानबाट प्राप्त जग्गालाई खरिदको भुक्तानी लिएर भ्रष्टाचार
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर– २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत र तत्कालीन लेखापाल जिवन सुवेदीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
काठमाडौं, भदौ १७ : सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध आइतवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर– २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत र तत्कालीन लेखापाल जिवन सुवेदीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गरेको भन्दै ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग उनीहरुमाथि मुद्दा चलाइएको छ।
अख्तियारमा परेको उजुरीमाथि अनुसन्धान हुँदा तत्कालीन वडाध्यक्ष बस्नेतले भवन निर्माणको लागि निःशुल्क पाएको जग्गालाई खरिद गरेको भन्दै ६ लाख रुपैयाँ भुक्तानी लिएको तथ्य फेला परेको छ। दानपत्रबाट जग्गा रजिष्ट्रेसन पास भएको कागजात देखिँदा समेत दिन नमिल्ने रकम भुक्तानी दिइएको दाबी अख्तियारको छ।
अख्तियारका अनुसार भुक्तानीका लागि गाउँपालिकामा पेश गरी अधिकृत भण्डारी र लेखापाल सुवेदीले जग्गा खरिद गरेको भन्दै झुट्टा व्यहोरा उल्लेख गरी रकम दिएका थिए। भ्रष्टाचार गरेको भन्दै बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप विगो असुल, जरिवाना र कै सजायको मागदाबी गरिएको छ।











