जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न प्रधानमन्त्रीकाे निर्देशन
आइतबार सिंहदरबारमा १२ वर्षदेखि सञ्चालनमा रहेको 'हेलो सरकार'को सेवालाई २४ घण्टा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशन दिएका हुन्।
काठमाडाैं, भदाै १७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन्।
आइतबार सिंहदरबारमा १२ वर्षदेखि सञ्चालनमा रहेको 'हेलो सरकार'को सेवालाई २४ घण्टा विस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्य सम्पादन गर्न निर्देशन दिएका हुन्।
सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील हुनुपर्नेमा उहाले जोड दिए।
उनले सुशासनको प्रवद्र्वनका लागि सार्वजनिक निकायहरूबीच अन्तरक्रियात्मक प्लेटफर्मका लागि प्रभावकारी सञ्जाल निर्माण गर्न आवश्यक रहेको र सार्वजनिक निकायहरूमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवर्धन गरी नागरिकको विश्वास आर्जन मुख्य प्राथमिकता भएको जिकिर गरे।
प्रधानमन्त्री प्रचण्डले जनताको समस्याको उचित सम्बोधन हुन नसके जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जाने भएकाले हेलो सरकारलाई थप प्रभावकारी बनाउन खोजिएको बताए।
हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल बिस्तार गर्नुपर्ने आवश्यकतामा उहाले जोड दिए। यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएसंगै एनसेल मोबाइल, फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायत डिजिटल माध्यमबाट टिपाउन सकिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ। हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ।











