Kathmandu Press

ठाउँठाउँमा वर्षा भए पनि लगातार पर्दैन

वरिष्ठ मौसमविद् बरुण पौडेलले केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नहुने जानकारी दिए । उनका अनुसार अहिले गण्डकी प्रदेशलगायत केही ठाउँमा वर्षा भइरहेको छ ।
ठाउँठाउँमा वर्षा भए पनि लगातार पर्दैन

काठमाडौं, भदौ १६ : केही दिन कम भएर आज काठमाडौँ उपत्यकालगायत केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नभएको जल तथा मैसम विज्ञान विभाग, हावापानी केन्द्रले जनाएको छ ।

वरिष्ठ मौसमविद् बरुण पौडेलले केही ठाउँमा वर्षा भए पनि लगातारको वर्षा भने नहुने जानकारी दिए । उनका अनुसार अहिले गण्डकी प्रदेशलगायत केही ठाउँमा वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

जसका कारण कोशी, मधेस प्रदेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।  यी क्षेत्रबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

भोलि १७ गते दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

यस्तै १८ गते पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान साथै बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: ०८:१५ बजे, आइतबार, भदौ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्