‘काठमाडौंलाई क्रिएटिभ सिटिज अफ फिल्मका रुपमा चिनाउन युनेस्कोमा प्रस्ताव पठाएका छौं’
उनले युनेस्कोमा प्रस्ताव पठाएकाले सकारात्मक रिजल्ट आउने अपेक्षा गरेको भन्दै महाननगरपालिकाले यस पटकको नीति कार्यक्रममा समेत फिल्म क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बनाएको उल्लेख गरिन्।
काठमाडौं, भदाै १६ : काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, काठमाडौं महानगरलाई फिल्म सिटीको रुपमा विकास गर्न आवश्यक पहल थालिएको दाबी गरेकी छन्।
नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले सुन्दरता, कलाकृति, परम्परा र मुर्त अमुर्त सम्पदालाई फिल्मको माध्यमबाट देखाउने हेतुले महानगरलाई ‘क्रियटिभ सिटिज अफ फिल्म’को रुपमा ब्राण्डिङका लागि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) मा सिफरीस गरिएको जानकारी दिइन्।
‘सुरुदेखि नै बोल्दै आएको र अहिले हामीले एउटा काम पनि गर्न लागेका छौं। फिल्म क्षेत्र चाहे त्यो नाटकको माध्यम होस् अथवा हामीले हेर्ने थिएटर मुभीहरु हुन्। हरेक मुभिहरुलाई बोल्ने पाटोका रुपमा लग्नुपर्छ भनेर काठमाडौं महानगरपालिकाले युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर छ। जहाँ सातवटा क्षेत्रको विभिन्न सात विधामा युनेस्को क्रियटिभ सिटिज नेटवर्क भनेर संसारको विभिन्न सहरहरु त्यो नेटवर्कमा बस्ने गर्दछ,’ उनले थपिन, ‘हामीले काठमाडौंलाई क्रियटिभ सिटिज अफ फिल्म भनेर अगाडि बढाउन प्रपोज गरेका छौ।’
उनले युनेस्कोमा प्रस्ताव पठाएकाले सकारात्मक रिजल्ट आउने अपेक्षा गरेको भन्दै महाननगरपालिकाले यस पटकको नीति कार्यक्रममा समेत फिल्म क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बनाएको उल्लेख गरिन्।
२०२४ सम्ममा फिल्म क्षेत्रको विकासका लागि ठोस निर्णय हुने भन्दै उनले भनिन्, ‘महानगरपालिकाको नीति, कार्यक्रकम र बजेट बनाइरहँदाखेरि केमा ध्यान दियौं भने काठमाडौंको सुन्दरता, कला, हाम्रो रितिरीवाज,मूर्त-अमूर्त सम्पदाहरु देखाउने माध्यम माध्यम फिल्म हो भनेर हामीले यसरी सोकेस गर्दैछौ।’
आज हुन लागेको नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्व चुनेर संस्थालाई पुर्नस्थापित गर्ने महासंघको तयारी रहेको भन्दै उनले संस्थाको आगामी कार्यकाल सुधारको कार्यकाल हुने अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए।
‘संस्थाको आगामी कार्यकाल सुधारको कार्यकाल हुनेछ। निकै वर्षदेखि टक्क अडिएर बसेको संस्थालाई सहज ढंगले अघि बढन निश्चित रुपमा समय त लागि नै हाल्छ। त्यसैले संस्थाको सुदृढिकरणका लागि सबैभन्दा पहिला संस्थामा सुधार आवश्यक छ। सुधार भएपछि संस्था सुदृढ हुन्छ र सुदृढिकरण पछि मात्र विकास सम्भव छ।’
आगामी कार्यकालमा देशभित्र र देशबाहिरको नाटकसँग सम्बन्धित संस्था र व्यक्तिहरुसंग समन्वय, सम्पर्क र सञ्जाल निर्माणलाई प्राथमिकतामा र महासंघलाई मजबुत बनाउने महासंघको भनाइ छ।












