Kathmandu Press

तातोपानी नाका पुरानै लयमा फर्किने आशा

हाल प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ।
तातोपानी नाका पुरानै लयमा फर्किने आशा

सिन्धुपाल्चोक, भदौ १६ : आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व संकलनको मेरुदण्ड थियो। यो नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गथ्यो।

०७२ वैशाख १२ को भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द ग¥यो। यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो।

हाल प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ।  पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

ढिलै भए पनि नाका सञ्चालनमा आएपछि स्थानीयवासी र व्यापारी तातोपानी नाका पुरानै लयमा फर्किनेमा आशावादी देखिएको तातोपानीका स्थानीय गंगा बज्राचार्य बताउँछन्। यसअघि आयातनिर्यात पटक–पटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधारणका लागि भने आवतजावत खुलाइएको थिएन।

विभिन्न चरणको छलफलपछि सीमित कन्टेनरबाट सामान आयात गर्नका लागि मात्र गत वैशाखदेखि नाका खोलिएको थियो। पहिले जस्तो सहज नभए पनि धेरथोर सामान आयात गर्न व्यापारी पनि अचेल नाकामा पुग्न थालेका छन्।

भूकम्प र जुरेको पहिरापछि उत्तरी नाकाको बाटोको अवस्था भने नाजुक रहेको उनीहरूको गुनासो छ। तर सीमा खुला भएसँगै दुई देशकै नागरिकले लाभ लिने स्थानीय व्यापारिकले विश्वास लिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णु खत्री बताउँछन्।

नाका खुला हुने भएसँगै आयात र निर्यातमा वृद्धि हुने तातापानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीको विश्वास छ। तर पार्किङ, सडक, यातायातलगायतका कारण सहजरूपमा व्यापार हुनेमा भने अझै शङ्का छ।

चीन सरकार सकारात्मक रहेकाले आगामी दिनमा देखिएका चुनौती समाधान गर्दै व्यापार सजिलो बनाउन सकिने उनको भनाइ छ।

नाका खुलेकोमा खुसियाली साट्न पग्नुभएका सिन्धुपाल्चोक–१ का सासंद माधव सापकोटाले तातोपानीसम्मको पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने संकेत गरेको र प्रधानमन्त्री दाहालको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने पनि सापकोटाले बताए।
 
नाकाबाट आवतजावत सुरु भएसँगै चीनतर्फका नागरिक पनि खुसी देखिएका छन्। चीनको सेबोकाकी पूर्वव्यवसायी नेमा रेन्जोमले अब चहलपहल बढ्ने र व्यापार राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । भूकम्पपछि तिब्बतको खासा बजार लामो समय मानवविहीन बनाइएको थियो।

अहिले त्यहाँ निश्चित चिनियाँ बस्छन्। खासा बजारको पुनःनिर्माण भइरहेको चिनियाँ अधिकारी बताउँछन्। यसको पुनःनिर्माणपछि मानवीय आवागमन पूर्ववत् अवस्थामा फर्कने विश्वास गरिएको छ।

प्रकाशित मिति: ०७:१६ बजे, शनिबार, भदौ १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्