Kathmandu Press

सुशासन र समृद्धिको यात्रामा सरकार : प्रधानमन्त्री

यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको प्रधानमन्त्री दाहालको दाबी छ।
सुशासन र समृद्धिको यात्रामा सरकार : प्रधानमन्त्री

कास्की, भदौ १५ : प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताताएका छन्।

समाजवादी मोर्चाले पोखरामा आयोजना गरेको सन्देशसभामा उनले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताए।

यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको प्रधानमन्त्री दाहालको दाबी छ। उनले रेमिट्यान्स एवं राजस्व बृद्धि, विदेशी मुद्रा सञ्चितीलगायतमा उपलब्धि हासिल भएको बताए। अर्थतन्त्रमा अझै पनि दबाब कायम रहेको बताउँदै उनले बैंकको ब्याजदर, सहकारी क्षेत्रलगायतमा देखिएका समस्या क्रमशः समाधान गर्दै जाने बताए।

भ्रष्टाचार विरोधी अभियानलाई सरकारले निडरताका साथ अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री दाहालले यो अभियान सानो मनले सुरु नगरिएको र दोषी छ भने जोसुकै भए पनि पर्ने स्पष्ट पारे। भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा भइरहेका छानविन निष्कर्षतिर जाने उनले बताए।

भारत भ्रमणका क्रममा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उहाँले भएका उपलब्धिलाई सुन्ने तथा भन्ने वातावरण पनि नदिइएको उल्लेख गरे। आफूले चाँडै नै न्यूयोर्क र त्यसपछि चीनको भ्रमणमा जान लागेको जानकारी दिँदै उनले न्यूयोर्कमा जलवायु परिवर्तनबाट भएका विपत्तीलगायत विषयमा छलफल गरिने बताए।

चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्ने सम्बन्धमा छलफल गरिने बताउँदै प्रधानमन्त्री दाहालले कोरोला नाका र रूइला नाका खोल्ने चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको स्पष्ट पारे।

प्रकाशित मिति: २०:११ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्