सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड
अनेरास्ववियूले विश्वविद्यालयमा लगाएको ताला विश्वविद्यालय आफैंले तोडेर कार्यालय खेलेपछि उनीहरुले परीक्षा नियन्त्रणको कार्यालय तोडफोड गरेका हुन्।
कैलाली, भदौ १५ : सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय परीक्षा नियन्त्रणको कार्यालय विद्यार्थी नेताहरुले तोडफोड गरेका छन्। सत्तारुढ दल नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूले कार्यालयमा शुक्रबार तोडफोड गरेका हुन्।
अनेरास्ववियूले विश्वविद्यालयमा लगाएको ताला विश्वविद्यालय आफैंले तोडेर कार्यालय खेलेपछि उनीहरुले परीक्षा नियन्त्रणको कार्यालय तोडफोड गरेका हुन्।
शुक्रबार दिउँसो परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा पुगेका नेता तथा विद्यार्थीले तोडफोड गरेको विश्वविद्यालयले जनाएको छ।
स्नातक तह छैटौँ सेमेस्टरको समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि गर्नेमाथि कारबाहीको माग गर्दै अनेरास्ववियुले साउन १८ गते तालाबन्दी गरेको थियो । सो ताला विश्वविद्यालयले भदौ १० गते फोडेको थियो।
१२–१५ जनाको समूहमा आएका समाजवादी सम्बद्ध अनेरास्ववियूका नेता तथा कार्यकर्ताले कार्यकक्षमा रहेका टेबुल, कुर्सी, सिसा, कागजपत्र भएको दराजमा तोडफोड गरेका छन्।











