Kathmandu Press

काठमाडौँमा गाईजात्रा मनाइयाे

काठमाडौंको वसन्तपुर र हनुमानढोका क्षेत्रमा गाईजात्रा (सापारु) मनाइएको हो। यस वर्ष बिहीबार जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले केही स्थानमा शुक्रबार गाईजात्रा पर्व मनाइएको हो।
काठमाडौँमा गाईजात्रा मनाइयाे

काठमाडाैं, भदाै १५ : प्रत्येक वर्ष मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा (सापारु) शुक्रबार काठमाडौँमा मनाइएको छ।

काठमाडौंको वसन्तपुर र हनुमानढोका क्षेत्रमा गाईजात्रा (सापारु) मनाइएको हो। यस वर्ष बिहीबार जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले केही स्थानमा शुक्रबार गाईजात्रा पर्व मनाइएको हो।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

गाईजात्राका कारण असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका क्षेत्र आसपासमा सवारी साधन प्रवेश गराउन रोक लगाइएको थियो भने काठमाडौ महानगरले सापारु र रोपाई जात्राका अवसरमा शुक्रबार महानगरमा सार्वजनिक बिदासमेत दिएको छ। 

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, भदौ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्