Kathmandu Press

राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलद्वारा भेट

मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो।
राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलद्वारा भेट

काठमाडौं, भदौ १४ : राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदहरूको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा सो भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरुरी रहेको बताउँदै पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यलाई स्थापित गरेको धारणा व्यक्त गरेका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि लामो समय सङ्घर्ष गरेका कारण विभिन्न सीमान्तकृत समुदायका समस्या महसुस गर्न सकेका कारण नै नयाँ संविधानमा मानवीय मूल्यका ती व्यवस्था समेट्न सकिएको सन्दर्भ उल्लेख गरेका थिए।

उनले लामो संघर्षपछि नेपालमा राजनीतिकरूपले लोकतन्त्र स्थापित भए पनि त्यहीअनुसारको सामाजिक व्यवस्था र अवस्था परिवर्तन गर्न धेरै काम गर्न बाँंकी रहेको बताए। त्यसमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका एजेण्डा नेपालका लागि महत्त्वपूर्ण रहने उल्लेख गरे।

नेपालको संविधान निकै राम्रो रहेको र आफूहरू त्यसबाट प्रभावित भएको तथा अमेरिकामा नभएको महिलासम्बन्धी हकअधिकारको व्यवस्था नेपालमा भएको बताउँदै नेपालमा मानवीय मूल्य स्थापित गर्न के के गर्न सकिन्छ भनेर छलफल गर्नु आफूहरूको भ्रमणको उद्देश्य रहेको अमेरिकी प्रतिनिधिमण्डलको भनाइ थियो।

उनीहरूले मानवअधिकार, श्रम, आप्रवासी, बालबालिका, बालविवाह, रोजगारी, व्यापार तथा जनताको न्यायमा पहुँचजस्ता विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

प्रतिनिधिमण्डलमा सांसदहरू मार्क पोकन,  डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड तथा नेपालस्थित अमेरिकी राजदूत डीन थोम्पसनलगायतको सहभागिता थियो।

 

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्