तिथि उही राखेर चाडपर्वको मिति अघि सार्न विज्ञको सुझाव
विज्ञहरुले ऋतु परिवर्तनसँगै तालमेल मिलाउन नसकिए पर्वहरु सान्दर्भिकतामाथि प्रश्न उठ्ने बताउँदै पञ्चाङ्ग निर्णायक समितिलाई विभिन्न सुझाव समेत दिएका छन्।
कास्की, भदौ १४ : चाडपर्व र समय विचलनका बिषयमा गरिएको छलफलबाट विज्ञहरुले ऋतु परिवर्तनसँगै चाडपर्वको समयमा पनि पुनर्विचार गरिनुपर्ने निश्कर्ष निकालेका छन्।
विज्ञहरुले ऋतु परिवर्तनसँगै तालमेल मिलाउन नसकिए पर्वहरु सान्दर्भिकतामाथि प्रश्न उठ्ने बताउँदै पञ्चाङ्ग निर्णायक समितिलाई विभिन्न सुझाव समेत दिएका छन्।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा गत शनिवार पोखरामा सम्पन्न कार्यक्रमपछि विज्ञबाट यस्तो निश्कर्ष आएको हो। आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कल्याण पन्तले अयनांशका कारण सौर्यमासको मिति एक महिना अघि सरेको बताए।
‘समय सरेकै कारण हरेक महिनामा हामीले गर्ने कार्यकलाप र प्रकृतिमा आउने परिवर्तनबिच तालमेल मिल्न सकेको छैन,’ पन्तले दृष्टान्त दिँदै भने, ‘वैशाख एक गते दिनरात बराबर तथा हावापानी पनि न जाडो न गर्मी हुनुपर्ने हो तर यो दिन सरेर चैत्रको पहिलो हप्ताको विशेषता भएको छ।’
पन्तले चाडपर्व पनि समयमैत्री बन्न नसकेका र यसमा पञ्चाङ्ग निर्णायक समितिले तिथि उही राखेर मिति अघि सार्नुपर्ने सुझाव दिए। यदि मितिअघि नसारिए अबका ११२७२ वर्ष पछि पुस–माघमा वर्षा ऋतु र असार–साउनमा निकै जाडो हुने सन्दर्भ पनि उनले सुनाए। अहिले ऋतुमा परिवर्तन आएका कारण कुनै पनि महिनाका विशेषता एक आपसमा नमिल्ने तथ्यलाई उनले सप्रमाण स्पष्ट पारेका थिए।
कार्यक्रममा टिप्पणीकार नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीराम बरालले कल्याण पन्तद्वारा प्रस्ताव गरिएको समय निर्धारणको विषयलाई सम्बन्धित पक्षबाट बृहत् छलफलका साथ निष्कर्षमा पुग्नुपर्ने तर्क गरे । बरालले भने, ‘अब हामीले पराधीन र परम्परावादी सोचबाट मुक्त भई वस्तुवादी अध्ययनबाट प्राप्त तथ्यांकलाई आधार मानेर पञ्चाङ्ग निर्माण गर्नुपर्छ।’
कार्यक्रममा डा. बलराम उपाध्याय रेग्मी, सह प्राध्यापक पूर्णप्रसाद वाग्ले, डा.लक्ष्मीशरण अधिकारी, डा.रामचन्द्र बराल, संस्थाका पूर्व अध्यक्ष योगराज पौडेल, संस्थाका पूर्व उपाध्यक्ष सुरज पौडेल, वर्तमान उपाध्यक्ष हिमामाया पौडेललगायतले समयको परिवर्तन, मानिसका कार्यकलाप र यसबाट जनजीवनमा परेको प्रभावबारे विभिन्न प्रतिक्रिया दिएका थिए । संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा.भानुभक्त आचार्यले गरेका थिए।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, ज्योतिष, साहित्य, विज्ञान, संस्कृति, खगोललगायत क्षेत्रका करिव सय जनाको उपस्थिति रहेको संस्थाका सहसचिव मदनप्रसाद बरालले जानकारी दिए । संस्थाले हरेक महिनाको दोस्रो शनिवार विविध विषयमा छलफल गर्दै आएको छ।











