लुम्बिनीमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि
लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमनमा पाँच सय प्रतिशतभन्दा बढी सङ्ख्याले वृद्धि भएको छ ।
काठमाडौं, भदौ १४ : गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि हुँदै गएको छ । कोभिडपछिका वर्षहरूमा विस्तारै पर्यटकको सङ्ख्या उकालो लाग्दै गरेको तथ्याङ्कले देखाएको छ ।
लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमनमा पाँच सय प्रतिशतभन्दा बढी सङ्ख्याले वृद्धि भएको छ ।
लुम्बिनी विकास कोषका जनसम्पर्क प्रमुख एवं सूचना अधिकारी डा हरि राईअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ को जुलाईसम्म राहदानीबाहक (नेपाल र भारतबाहेक देशका) पर्यटकको सङ्ख्यामा पाँच सय प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यस्तै भारतीय पर्यटकको आगमनमा ३० प्रतिशत र सोही हाराहारीमा आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको उनले बताए ।
सन् २०२२ मा लुम्बिनीमा जुलाईसम्म तीन हजार नौ सय ७५ जना तेस्रो मुलुकका अर्थात् राहदानीबाहक पर्यटकको आगमन भएको थियो । सो वर्ष कूल २३ हजार नौ सय ४२ जना पर्यटकले लुम्बिनीको भ्रमण गरेको डा राईले जानकारी दिए । गत वर्ष लुम्बिनीमा भारतबाहेक ९६ देशका पर्यटकको आगमन भएको थियो भने चालु वर्षमा जुलाई महिनासम्ममा ६७ देशका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।
चालु अङ्ग्रेजी वर्षमा सबैभन्दा बढी पर्यटक पुस, माघ र फागुन महिनामा आएका छन् । कोषले उपलब्ध गराएको तथ्याङ्कअनुसार सबैभन्दा बढी फेब्रुअरीमा १२ हजार पाँच सय २२ जना पर्यटक तेस्रो मुलुकबाट आगमन भएको छ । लुम्बिनीमा सबैभन्दा कम पर्यटक सन् २०२१ मा एक हजार एक सय ९७ जना मात्र आएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणपछि भारतीय पर्यटकको पनि सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । सन् २०२२ को जुलाईसम्ममा भारतका एक लाख छ हजार चार सय छ जना पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा चालु अङ्ग्रेजी वर्षको जुलाईसम्म एक लाख ४३ हजार नौ सय ६८ जनाले लुम्बिनी भ्रमण गरेको कोषको तथ्याङ्कमा उल्लेख छ ।
यसै अवधिमा तीन लाख ७९ हजार तीन सय ६० जना नेपालीले लुम्बिनीको भ्रमण गरेको कोषका जनसम्पर्क प्रमुख डा राईले जानकारी दिए । अक्टोबरदेखि मार्चसम्म पर्यटकीय सिजन रहेका कारण यस वर्ष लुम्बिनीको पर्यटक आगमनमा व्यापक सुधार हुने लुम्बिनी विकास कोषको अपेक्षा रहेको छ ।
निराश व्यवसायी
लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आगमन बढे पनि यसको अपेक्षाकृत फाइदा यहाँका व्यवसायी एवं स्थानीयले पाइरहेका छैनन् । अहिले लुम्बिनीमा एक सय १० वटा होटल सञ्चालनमा रहेका छन् । प्रायः सबै होटल आन्तरिक पर्यटकको भरमा थेगिएका छन् । बाह्य पर्यटक होटलसम्म पुग्नै नसकेको लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीको गुनासो छ । “अहिले लुम्बिनीमा बाह्य पर्यटक बढेको समाचार आइरहेको छ तर यसको फाइदा हामीलाई हुँदैन”, ज्ञवालीले भने, “उनीहरुलाई हामीले लुम्बिनीको बारेमा बताउनै सकेका छैनौँ ।”
प्रायः सबै विदेशी पर्यटक मायादेवी मन्दिरको अवलोकन गरी फर्किने गरेको उनी बताउछिन् । गौतमबुद्धसँग सम्बन्धित अन्य स्थलको बारेमा उनीहरुलाई जानकारी नै गराइँदैन । यसबाहेक बसाई लम्ब्याउने खालका अरु केही क्रियाकलाप नभएको ज्ञवालीको गुनासो छ ।
पर्यटक बढे पनि बढेन बसाई
लुम्बिनीमा तेश्रो मुलुकको पर्यटकको आगमन बढे पनि उनीहरुको बसाई लुम्बिनीमा हुने गरेको छैन । प्रायः सबै पर्यटक भारतीय ट्राभल एजेन्सीमार्फत आउने र सोही दिन भारतमै फर्किने गरेका छन् । गौतमबुद्धसँग जोडिएको अन्य तीर्थस्थल पर्यटकको रोजाइमा पर्ने गरेको छैन । बृहत्तर लुम्बिनीअन्तर्गत पर्ने तिलौराकोट, निग्लिहवा, गोटिहवा, सगरहवा, गौतमबुद्धको मावली देवदह एवं रामग्राम अधिकांश तीर्थालु पुग्नै पाउँदैनन् ।
पर्यटक लुम्बिनमिा अडिन नसक्दा यसको फाइदा स्थानीयस्तरमा जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । विभिन्न बुद्धिष्ट मुलुकबाट भारत हुँदै लुम्बिनी आउने पर्यटक समूहलाई भारतीय टुर गाइडले केहीबेर लुम्बिनी घुमाएर तत्काल भारततिरै फर्काएर लैजाने प्रवृत्तिले समस्या थपिएको हो ।
पर्यटकको बसाई लम्ब्याउने विषयमा विद्यावारिधिसमेत गरेका कोषका सूचना अधिकारी डा राई लुम्बिनीमा पर्यटकको बसाई औसतमा दुई दिन पनि नहुने गरेको बताछन् । “अहिले अध्ययन गरिएको छैन तर सन् २००४ मा लुम्बिनीको पर्यटकको औषत बसाई १ दशमलव ८५ दिन थियो”, राईले भने, “२०१९ मा मैले विद्यावारिधिको क्रममा अनुसन्धान गर्दा त्यो बढेर एक दशमलव ८७ दिन पुगेको थियो, त्यसपछि फेरि अध्ययन गरिएको छैन ।”
यसरी बस्ने पर्यटकले आफ्नो भ्रमण अवधिभरि ८५ डलर खर्च गरेको देखिएको राईले बताए । खर्च अनुपात विश्लेषण गर्ने हो भने प्रत्येक भ्रमण बराबर मक्का मदिनामा पर्यटकले १५ हजार डलर र जेरुसेलममा औसतमा सात हजार डलर खर्च गर्ने गरेको डा राईको भनाइ छ । “यी सबै तीर्थस्थल समान हैसियतका गन्तव्य हुन, जुन विभिन्न धर्म प्रवर्तकको जन्मस्थल हो ।” राईले भने, “लुम्बिनीलाई पनि मक्का मदिनाजस्तै प्रवर्द्धन गर्नुपर्ने राज्यको लक्ष्य हुुनुपर्ने हो ।”
यसरी बढाउन सकिन्छ पर्यटकको बसाई
लुम्बिनीमा पर्यटकको बसाई अवधि बढाउन लुम्बिनीमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना हुनुपर्ने धारणा स्थानीयस्तरमा उठेको छ । धार्मिक कार्यक्रममा तेस्रो मुलुकका बौद्धधर्मको आगमनसँगै उनीहरुको अनुयायीको सङ्ख्यामा पनि वृद्धि हुने पर्यटन व्यवसायीको भनाइ छ । तर पछिल्लो समय लुम्बिनीमा यस्ता धार्मिक कार्यक्रमको आयोजना हुनै सकेको छैन ।
लुम्बिनीबाट केही दूरीमा भैरहवा, बुटवललगायत क्षेत्रमा रहेका मनोरञ्जनात्मक गतिविधिमा पनि पर्यटकलाई भुलाउनुपर्ने आवश्यकता रहेको छ । लुम्बिनीमा पर्यटक भुलाउन मिश्रित बजार प्रणालीमा जानुपर्ने यहाँका सरोकारवालाको सुझाव छ । योजना मात्र बनाएर नभई यसको बिक्री एवं प्रवर्द्धनमा पनि जानु पनि आजको आवश्यकता हो ।
यस्तो छ कोषको आगामी योजना
लुम्बिनी विकास कोषले पर्यटकको बसाई अवधि लम्ब्याउने योजना चालु आर्थिक वर्षमा नीति तथा कार्यक्रममै समावेश गरेको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटक लक्षित विभिन्न कार्यक्रमको योजना बनाइएको जानकारी दिए । यो आर्थिक वर्षमा पर्यटन जोडिने गरी महत्त्वपूर्ण धार्मिक कार्यक्रमको आयोजना गरिँदैछ ।
कोषका सदस्य सचिव शाक्यले बुद्धजयन्ती मात्र नभई महायानी पराम्पराअनुसारको मोन्लमको सङ्ख्या बढाइने जानकारी दिए । “गत वर्ष दुई तीन वटा मात्र मोन्लम गरिएको थियो, यस वर्ष हजारभन्दा बढी सहभागी हुने गरी चार पाँच वटा मोन्लम गर्ने योजना बनाएका छौँ ।” उनले भने, “यी कार्यक्रमसँगै पर्यटन पनि जोडिन्छ, यसमा आनी लामा मात्रै नभई विदेशी पनि सहभागी हुने गरेका छन् ।”
यस्तै थेरावादी पराम्पराअनुसार गत वर्ष पाँच सय जनालाई भिक्षु बनाइएकोमा यस वर्ष त्यसलाई एक हजार जनालाई सहभागी गराइने योजना रहेको छ । यसबाहेक लुम्बिनीमा ‘हरेक पूर्णिमा विशेष पूर्णिमा’ को रुपमा मनाउने र मायादेवी मन्दिरमा तीर्थयात्री एवं पर्यटकको लागि मनासिव शुल्कमा दीपप्रज्वलन गर्ने व्यवस्था मिलाइने कोषले योजना बनाएको छ । लुम्बिनीमा प्रवज्या कार्यक्रम, त्रिपिटक वाचन, विभिन्न पराम्पराअन्तर्गतका पूजालगायत कार्यक्रम गर्ने शाक्यले जानकारी गराए ।
यस्तै लुम्बिनी प्रदेश सरकारको ‘लोरेन्ट एण्ड लिडर्स’ कार्यक्रमअन्तर्गत विश्वका विभिन्न धार्मिक र राजनीतिक नेतृत्वलाई आमन्त्रण गरी शान्तिका लागि विश्व शान्ति सम्मेलन आयोजनासमेत गरिने भएको छ । पर्यटकहरुको बसाई लम्ब्याउने उद्देश्यसहित बुद्ध जन्मको कथामा आधारित लाइट उन्ड साउन्ड प्रविधिमा आधारित एशिया फाउण्डेशनको परियोजना पनि यसै वर्ष आरम्भ गरिँदैछ ।
हिलेसम्म रोकिएको दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरण एवं तेस्रो विश्व बौद्ध शिखर सम्मेलनको लागि नेपाल सरकारलाई अनुरोध गर्ने तयारी पनि रहेको छ । यी सबै क्रियाकलापले यस वर्ष लुम्बिनीमा पर्यटक आगमनमा वृद्धि मात्र नभई उनीहरुको बसाई पनि लम्बिने कोषको अपेक्षा रहेको छ । (रासस)











