Kathmandu Press

नगरपालिकाका प्रमुखसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

नगरपालिकाका प्रमुखसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, साउन १३ : सप्तरीको बोदेबर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंहसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा भ्रष्टाचारमा कारवाहीका मागसहित मुद्दा दायर गरेको हो। बोदेबसाईन नगरपालिकाले आव २०७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका नाममा विनियोजन गरेको बजेटमा घोटालाको अभियोग लगाएको छ। 

भ्रष्टाचार प्रकरणमा नगर प्रमुख सिंहसँगै  निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, नगरपालिका पशु विकास अधिकृत (अधिकृत छैटौं) अर्जुन प्रसाद यादव, लेखापाल सरोज कुमार मंडल, वडा नं. ४ का तत्कालीन वडाअध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगत, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्मालाई सजायको माग गरिएको छ। 

कार्यक्रमका लागि विनियोजन बजेटमा नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी वडा नं. ६ फुलकाहीमा कार्यक्रम सञ्चालन गर्ने भन्दै झुट्टा बिल बनाई भ्रष्टाचार गरेको दाबी अख्तियारको छ। सबै प्रतिवादीबाट दामशाहीको आधारमा बिगो असुल गरी भ्रष्टाचारको मात्रा अनुसार सजाय गर्न अख्तियारको माग छ। 

सो सम्बन्धी उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा पशु विकास अधिकृत अर्जुन प्रसाद यादवले आव २०७७÷०७८ मा सञ्चालन भएको बाख्रा व्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारीमा रही कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुठ्ठा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको, कार्यक्रम नै सञ्चालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार एवं निर्णयार्थ पेश गरी स्वीकृत भई रु. १४ लाख ७१ हजार ९२१ रुपैयाँ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी दिएको देखिएको छ।

यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर भएकोले यादवलाई बिगो १४ लाख ७१ हजार ९२१ रुपैयाँ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना गरी बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको छ।

यस्तै, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मंडलले  बाख्रा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै सञ्चालन नगरी सार्वजनिक खरिद ऐन, नियम विपरीत हुने गरी कार्यक्रम सञ्चालन गरेको भनी पेश गरेका नक्कली बिल भरपाई समेतलाई अनदेखा गरी भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी भुक्तानी दिएको देखिँदा निज घनश्याम यादव र सरोज कुमार मंडललाई पनि सोही बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदाबी लिइएको छ।

यसैगरी नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह, वडा नं. ४ का तत्कालीन वडाअध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतले बाख्रा व्यवसायी पकेट कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको र सोही प्रतिवेदनसमेतको आधारमा नगरपालिकाले माँ जगदम्बा कृषक समूहलाई १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी दिएको देखिँदा निजहरु आतेश कुमार सिंह, रामानन्द चौधरी, श्रीप्रसाद भगतको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले उनीहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानासमेतको सजाय हुन मागदाबी लिइएको छ।

साथै, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माले बाख्रा व्यवसायी पकेट कार्यक्रम सञ्चालनका लागि नगरपालिकासँग सम्झौता गरेकोमा सम्झौता बमोजिमका कुनै पनि कार्यक्रम नगरी गैरकानूनी लाभ पु¥याउने बद्नियतले झुठ्ठा बिल भरपाई एवं कागजात तयार गरीरगराई कार्यक्रम सम्पन्न भएको भनी गलत प्रतिवेदन पेश गरी भुक्तानी भएको देखिँदा निजहरुलाई सजाय गरी बिगोसमेत जफत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ अख्तियारले जनाएको छ।
 

प्रकाशित मिति: १४:५४ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्