प्रचण्ड नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्छ : मन्त्री किराती

काठमाडाैं, भदाै १३ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकलाई अघि बढाउन वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतीय सरकार बनाउनुपर्ने बताएका छन्।
टुरिस्ट बस एशोसियसन अफ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा किरातीले मुलुकका सवै समस्या समाधानका लागि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने र यसका लागि आफु कुर्सी छाड्न पनि तयार रहेको बताए।
मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्नका लागि सवैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किरातले राष्ट्रिय सहमतिका लागि आफुले जस्तोसुकै त्याग गर्ने जिकिर गरे।
उनले सबै राजनीतिक दलहरु मिलेर नै संविधान जारी भएको भन्दै सवैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताए।
त्यस्तै मन्त्री किरातीले एकात्मक राज्यका समयमा बनाइएको पर्यटन ऐनलाई अव संघीयता अनुसार परिवर्तन गर्नुपर्ने र यस क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राखे।











