एमसिसीमार्फत राखिएका अनुचित स्वार्थ पुरा गर्न सकिँदैन : नेपाल
उनले नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन नसक्ने बताउँदै संसदमा १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसिसीको अंग घोषणा गरेर पास गरिएको स्पष्ट पारे।
रुपन्देही, भदौ १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘एमसीसी’मार्फत राखेका अनुचित स्वार्थ पूरा गर्न नसकिने बताएका छन्।
बुटलमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा उनले एमसीसीमा केही त्यस्ता अनुचित स्वार्थका विषय र सर्त भए नेपाली जनतालाई स्पष्ट पार्न प्रधानमन्त्री दाहाललाई आग्रह गरे।
उनले नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन नसक्ने बताउँदै संसदमा १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसिसीको अंग घोषणा गरेर पास गरिएको स्पष्ट पारे।
‘नेपालको भूमिमा नेपालको अधिकार छ। अरुको अधिकार स्वीकार्न सक्दैनौं,’ उनले भने, ‘नेपालको कानुनभन्दा अरुको कानुनमाथि हुनुहुँदैन, सत्ता जोगाउन कसैसँग अनुचित सहमति गरिनुहुँदैन।’
अध्यक्ष नेपालले यो गठबन्धनलाई बलियो बनाउँदै संविधान र व्यवस्थाको रक्षाका लागि काम गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए। उनले जनताको समस्या र मागलाई सदन र सडकबाट सम्बोधन गर्ने गरी लाग्नसमेत आग्रह गरे।
केन्द्रसँगै प्रदेश र स्थानीय तहमा वर्तमान गठबन्धनमा सामेल रहेकाले सरकार, सदन र सडकबाट जनताको सवाल उठाउने गरी लाग्नुपर्नेमा अध्यक्ष नेपालको जोड थियो। उनले भने, ‘हामी जहाँ छौँ, त्यहिँबाट जनताको पीडा र बेदनालाई सरकार, सदन र सडकबाट उठाउनुपर्छ।’











