इपिएसको कोटा बढाउन कोरियाली राजदुतलाई गृहमन्त्रीको आग्रह
‘इपिएस’ कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकोमा धन्यवाद दिंदै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन समेत आग्रह गरे।
काठमाडौं, भदौ १२ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटमा द्वीपक्षीय सहकार्य र सम्बन्धका धेरै आयामबारेमा छलफल भएको बताइएको छ।
भेटमा मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे। राजदूत पार्कले नेपालमा आफुले तीन महिनादेखि राजदूतको रूपमा काम गरिरहेको तथा नेपाल र दक्षिण कोरियाको मैत्रीपूर्ण एवं दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे।
उपप्रधानमन्त्री एवमं गृहमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र ‘कोइका’मार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा सहयोग पु¥याएकोमा धन्यवाद दिए।
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाईसकिएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा दक्षिण कोरियाको सहयोग र साथको निरन्तरताको अपेक्षा राखेको उनले बताए।
‘इपिएस’ कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकोमा धन्यवाद दिंदै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन समेत आग्रह गरे।
त्यसक्रममा राजदूत पार्कले नेपाल–दक्षिण कोरिया सम्बन्धका तीन आधार शान्ति, नागरिक नागरिकबिचको सम्बन्ध र समृद्धि भएको बताए। ‘इपिएस’ कार्यक्रमअन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको समेत बताए।
दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार रहेको र सामसुङ लगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीहरूले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास उनले व्यक्त गरे।











