Kathmandu Press

संसदमा गगनकाे गर्जन : हामीलाई हेप्ने कुरा स्वीकार्य हुँदैन

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०को सैद्धान्तिक छलफलमा भाग लिँदै उनले गठबन्धनका सांसद थपडी बजाउन आएका हुन भन्ने भ्रममा समेत नबस्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।
संसदमा गगनकाे गर्जन : हामीलाई हेप्ने कुरा स्वीकार्य हुँदैन

काठमाडौं, भदौ १२ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सांसद र संसदलाई नहेप्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०को सैद्धान्तिक छलफलमा भाग लिँदै उनले गठबन्धनका सांसद थपडी बजाउन आएका हुन भन्ने भ्रममा समेत नबस्न प्रधानमन्त्रीलाई चेतावनी दिए ।

‘प्रधानमन्त्रीजीलाई म यहीबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएको सबै सांसदहरु थपडी बजाउन आएका होइनन् । हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन,’ सांसद थापाले भने, ‘यो विधेयकका यतिधेरै प्रश्नहरु छन् । यो विधेयक मात्रै होइन यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरेपनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला।’

संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याएपनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको उनको टिप्पणी छ। राजनीतिक आपराधिकरण आफूहरुलाई मान्य नहुने थापाले तर्क गरे।  

‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत् जघन्य अपराधमा संलग्नहरुलाई जोगाउनेगरी जुन प्रावधान ल्याइएको छ। कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु राजनीतिक अपराधिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन,’ उनले भने, ‘कानून मन्त्रीलाई मेरो आग्रह पनि छ २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो। यसको भारी नकोल्नुस्, यसलाई बिसाउनुस्।’

 

प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्