अस्करको लागि नेपाली चलचित्रको आवेदन माग
समितिले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो।
काठमाडौं, भदौ १२ : अस्कर अवार्डका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले ‘९६औं अस्कर अवार्ड प्रतियोगिता’मा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन सूचना आह्वान गरेको छ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली चलचित्रलाई उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन आवेदन माग गरेको हो।
तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी सो प्रतियोगितामा प्रतिस्पर्धी चलचित्रका रूपमा सिफारिस गरी जानकारी गराउन उक्त संस्थाबाट अनुरोध भइआएकाले ९६औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र पठाउन आव्हान गरेको छ।
फिल्म पठाउन भदौ २९ गतेसम्मको समय निर्धारण गरिउको सूचनामा उल्लेख छ।
प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म सन् २०२२ डिसेम्बर १ देखि सन् २०२३ सेप्टेम्बर ३० तारिखसम्म प्रदर्शन भइसकेको हुनुपनेृ छ। निदेवनसहित सेन्सर पास प्रमाणपत्र, ओटीटीमा रिलिज भएको भए सोको प्रमाण, ३५ एमएम वा ७० एमएमको भिडियो वा २४–४८ फ्रेममा प्याकेज गरिएको डिजिटल सिनेमा हुनुपर्ने छ।
निवदेनका साथ चलचित्र प्रदर्शन गराउँदा उक्त चलचित्र सात दिनभन्दा बढी चलचित्रघरमा सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने समाचार तथा सञ्चार माध्यमहरूमा छापिएका विज्ञापनका कटिङहरू लगायतका विवरणहरूको डिजिटल कपीमा समेत उपलब्ध गराउन विज्ञप्तिमा अनुरोध गरिएको छ।
उक्त पुरस्कारको प्रतियोगितामा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागी गराउन चलचित्र निर्देशक राजु केसीको नेतृत्वमा अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) गठन भएको छ।












