‘राष्ट्रिय संस्कृति नीति बनाउन आयोग गठन गरौं’
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा रहने गरी संवैधानिक व्यवस्था रहेको बताउँदै उनले त्यही रुपले आपसी सद्भाव, समन्वय र सामञ्जस्यता कायम राख्नुपर्ने पनि बताए।
काठमाडौं, भदौ १२ : माओवादी केन्द्रका सांसद वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले संस्कृति नीति तयार पार्न आवश्यक भएको बताए।
‘नागरिकको धार्मिक र सांस्कृतिक हकको प्रत्याभूत गर्न र समय–समयमा देखापर्ने साम्प्रदायिक हिंसालगायतका अवस्थालाई सम्बोधन गर्न कानुनी ढंगले नै यसलाई निरुपण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले एक शक्तिशाली आयोग बनाई यी विषयको अध्ययन अनुसन्धान गरी राष्ट्रिय संस्कृति नीति के हुने र कस्तो हुने भन्नेजस्ता कुराहरु व्यवस्थित गर्नलाई आयोगमार्फत नीति बनोस्।’
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देशका रुपमा रहने गरी संवैधानिक व्यवस्था रहेको बताउँदै उनले त्यही रुपले आपसी सद्भाव, समन्वय र सामञ्जस्यता कायम राख्नुपर्ने पनि बताए।
विभिन्न समयका राजनीतिक परिवर्तनपछि धर्म निरपेक्षता, गणतन्त्र, संघीयता र समानुपातिक शासन व्यवस्था कायम भएकामा अहिले समाजमा विभिन्न किसिमका अतिवाद देखिपरेको र यो समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
कुनै पनि राजनीतिक दल, धार्मिक समुदायले अतिवादलाई प्रशय दिन नहुनेमा पनि पुनको जोड थियो । विभेदरहित समाजका लागि सबै पक्ष एकजुट हुपनुपर्नेउनले बताए।
नेपालको संविधान, विभिन्न अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनको परिपालनामा प्रतिबद्ध हुनुपर्नेमा पनि पुनले सरकारको ध्यानाकर्षण गराए। उनले सुशासन, समृद्धि र सामाजिक न्यायको नीतिको परिपालनाका लागि पनि जोड दिए।











