प्रधानमन्त्रीकाे अभिव्यक्ति नै जातीय हिंसा भड्काउन उद्दत छ : एमाले प्रमुख सचेतक गिरी
‘म जातीय राज्यको पक्षमा छु तपाईंहरू जाग्नुहोस् उठ्नुहोस् र मलाई बल दिनुहोस् हाम्रो पार्टीलाई बहुमत दिनुहोस् म जातीय राज्य बनाउँछु भन्नुभएको छ। यो अस्वभाविक मात्र हैन हिंसा भड्काउने र देशमा त्रास फैलाउने स्वयम् प्रधानमन्त्री मलजल गरिरहनुभएको छ।’
काठमाडौं, भदौ १२ : प्रधानमन्त्री पुष्पकमल दाहाल नै देशमा जातीय हिंसा भड्काउने काममा लागेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आरोप लगाएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले जातीय राज्य बाँड्छु भन्दै आपसी भाइचारा भड्काइरहेको बताए।
‘म जातीय राज्यको पक्षमा छु तपाईंहरू जाग्नुहोस् उठ्नुहोस् र मलाई बल दिनुहोस् हाम्रो पार्टीलाई बहुमत दिनुहोस् म जातीय राज्य बनाउँछु भन्नुभएको छ,’ उनले भने, ‘यो अस्वभाविक मात्र हैन हिंसा भड्काउने र देशमा त्रास फैलाउने स्वयम् प्रधानमन्त्री मलजल गरिरहनुभएको छ। यसरी आपसी दाजुभाइको बीचमा विद्वेष र घृणा फैलाउने कामको आपत्ति मात्र होइन निन्दा पनि गछौं।’
यस्तै, गिरीले सुन तस्करी प्रकरणमा सरकारले सत्तारुढ दलको नेताको नाम जोडिएपछि उन्मुक्ति दिन खोजेको पनि बताए । उनले भने, ‘भ्रष्टचारका नाइकेहरूलाई छानबिन दायरामा ल्याइँदैन भने त्यो उन्मुक्ति दिनु हो। राजनीतिक तहका नेताहरू सुन तस्करीमा मुछिए पनि सोधपुछ भएन।’
उनले सत्ता पक्षलाई जस्तोसुकै तस्करी गर्न छुट दिने र सामान्य नागरिकलाई जेल पठाउनु नै कानुनी राज्य हो भन्दै प्रश्न पनि गरे।











