Kathmandu Press

पीडित परिवारलाई २२ लाख क्षतिपूर्ति दिने सहमतिपछि धनगढीस्थित स्वस्तिक अस्पतालको विवाद समाधान

अस्पताल मृतकका परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन र चिकित्सकलाई कारबाही गर्न तयार भएपछि दुवै पक्षबीच सहमति भएको हो।
पीडित परिवारलाई २२ लाख क्षतिपूर्ति दिने सहमतिपछि धनगढीस्थित स्वस्तिक अस्पतालको विवाद समाधान


कैलाली, भदौ १२ : पत्थरीको शल्यक्रियाका क्रममा मिर्गौला निकाल्दा बिरामीको मृत्यु भएपछि तनावग्रस्त बनेको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलको विवादमा मृतकका परिवार र अस्पतालबीच सहमति भएको छ।

अस्पताल मृतकका परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन र चिकित्सकलाई कारबाही गर्न तयार भएपछि दुवै पक्षबीच सहमति भएको हो।

कञ्चनपुर, बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार अस्पताल भर्ना भएका थिए। त्यसक्रममा उनको बायाँ मृर्गौलामा दुई वटा र दायाँ मिर्गौलामा एउटा पत्थरी निकाल्न शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि रक्तश्राव रोकिएन मृर्गौलामा आन्तरिक रक्तश्राव भएको भन्दै आफन्तको सहमतिमा डाक्टरले मृर्गौला झिकेका थिए । मृर्गौला झिकेपछि रक्तश्राव रोकिएको भनिए पनि चौधरीको सोमबार भेन्टिलेटरमा उपचारकै क्रममा मृत्यु भएको थियो।

क्षतिपूर्ति वापत एक करोड रुपैयाँ दिनुपर्ने परिवारले माग गरेका थिए। सोमबार राति २२ लाख रुपैयाँमा क्षतिपूर्ति दिने सहमति भएपछि परिवारले मृतकको शव बुझेको बताइएके छ।

यस्तै, अस्पतालले मृतकका छोराको पढाइका लागि १० र छोरीको बिहेका लागि १२ लाख रुपैयाँको चेक पनि मृतकका परिवारलाई उपलब्ध गराएको बताइएको छ।

शल्यक्रियामा संलग्न डाक्टर जोनेश तिवारीलाई कारबाहीका लागि सिफारिस गर्ने सहमति पनि भएको छ। यो घटनामा अस्प्तालले विज्ञप्ति निकालेर आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ।

प्रकाशित मिति: ११:२२ बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्