Kathmandu Press

‘कोशीमा सभामुख फालाफाल छ, कसैसँग सौदा गर्नै पर्दैन’

अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा राप्रपालाई मुख्यमन्त्रीकै अफर आएको बताउँदै अब चाहेर पनि सत्ता गठबन्धनलाई सघाउन नसक्ने स्पष्ट पारे।
‘कोशीमा सभामुख फालाफाल छ, कसैसँग सौदा गर्नै पर्दैन’

काठमाडौं, भदौ १२ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेकोमा आपत्ति जनाएका छन्।

साउदी अरेबियाको भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले दलको हैसियत अनुसारनै आफूहरुले समिति सभापति लिएको दाबी गरे।

उनले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए। उनले संसदीय समितिको नेतृत्व लिइँदा कुनै प्रकारको लेनदेन सहमति नभएको दाबी गरे।

‘संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति भएको छैन,’ उनले भने।

कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा अब चाहेर पनि हुन नसक्ने लिङ्देनले बताए । राप्रपाले कोशी प्रदेशमा सभामुख र मन्त्री पाउन मागिरहनु नपर्ने र सुरुको गठबन्धनताका नै राप्रपालाई कोशी प्रदेशको सभामुखको भाग परेको पनि उनले बताए।

अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा राप्रपालाई मुख्यमन्त्रीकै अफर आएको बताउँदै अब चाहेर पनि सत्ता गठबन्धनलाई सघाउन नसक्ने स्पष्ट पारे।

‘जिम्मेवार व्यक्तिहरुले तोकरै सभामुख र एउटा मन्त्री लिनेभयो भनेर राप्रपाले र अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुंगो लाग्यो भन्ने जस्ता प्रचार भए,’ उनले भने, ‘प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ, त्यो झुट हो।’

लिङ्देनले कोशीमा सभामुख फालाफाल भएको बताउँदै सभामुखका लागि सकैसँग सौदा गर्न नपर्ने बताए। उनले आफूहरुले चाहेको खण्डमा सत्तापक्षबाट मुख्यमन्त्री नै प्राप्त हुनसक्ने गणितीय अवस्था रहेको पनि उल्लेख गरे।

१० पुसको गठबन्धनमै पनि बागमती र कोशीको सभामुख राप्रपाले लिने सहमति भए पनि त्यहाँको अंकगणितलाई हेरेर आफूहरुले नलिएको उनको दाबी छ ।

प्रकाशित मिति: १०:५० बजे, मंगलबार, भदौ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्