डा. साहको पुस्तक ‘गर्भको गर्व’ सार्वजनिक
पुस्तकमा उल्लेख गरिएका कतिपय पात्र र प्रसङ्ग वास्तविक घटनामा आधारित छन्। पुस्तकमा नौ वटा कथा समेटिएका छन्।
काठमाडौं, भदौ ११ : प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैरआख्यान पुस्तक ‘गर्भको गर्व’को लोकार्पण भएको छ।
काठमाडौंस्थित नेपाल चिकित्सक संघको सभाहलमा राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेत, लेखक डा. साह, नारी मासिककी सम्पादक उपासना घिमिरे, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा. सजीव तिवारी, पूर्वअध्यक्ष डा. लोचन कार्की, गर्भवती महिला भावना प्रधान न्यौपानेले संयुक्तरूपमा पुस्तकको लोकार्पण गरे।
पुस्तकमा उल्लेख गरिएका कतिपय पात्र र प्रसङ्ग वास्तविक घटनामा आधारित छन्। पुस्तकमा नौ वटा कथा समेटिएका छन्। ती कथा महिलाले गर्भावस्थामा भोग्नुपर्ने विविध जटिलतामा आधारित छन्।
डा. साहले लोकार्पण समारोहमा आफूले देखेका, भोगेका कुराबाट नै यी कथा तयार भएको बताए। समारोहमा वक्ताहरूले कृतिका बारेमा चर्चा गरेका थिए।












