Kathmandu Press

नेकपा फुटाउने अदालत होइन, प्रचण्ड हुन् : ओली

एमालेका अध्यक्ष केपी ओलीले अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरेर प्रचण्डले कम्युनिष्ट पार्टीलाई फुटाएको बताए।
नेकपा फुटाउने अदालत होइन, प्रचण्ड हुन् : ओली

काठमाडौं, भदौ ११ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपालाई अदालतले नभइ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फुटाएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रममा उनले अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरेर प्रचण्डले कम्युनिष्ट पार्टीलाई फुटाएको बताए।

अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको तर आफूले अनेक कोशिस गर्दा पनि प्रचण्ड तयार नभएका कारण पार्टी विभाजन भएको ओलीको भनाइ छ।

‘अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य तयार गरिएको छ, त्यो उचित होइन, ठीक होइन। अदालतले ऋषि कट्टेलले त्यही नाममा पहिले नै दर्ता गराइसकेको हुँदा अर्को नाम दर्ता गर्न आउ मात्र भनेको थियो,’ उनले भने, ‘अर्को नाम लिएर दर्ता गर्न मैले अनेक कोसिस गर्दा पनि प्रचण्ड जान मानेनन् । नेकपा अदालतले होइन, प्रचण्डले फुटाएका हुन्।’

अध्यक्ष नेकपाबाट ओलीले प्रचण्ड अलग भएपछि एमालेलाई तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोगले माधव नेपाललाई सघाएको लागेको आरोप पनि लगाए ।

‘नेकपा फुटेपछि निर्वाचन आयोग, सभामुख र माधव नेपालहरूको संयुक्त साँठगाँठबाट भदौ १० गते फेरि एमाले फुट्यो । अदालतमा गएर मुद्दा हालेर ल्याउनेहरू २० प्रतिशतमा फुटाउँन मिल्ने भन्ने लाज, शरम छोडेर निर्लज्ज भएर पार्टी फुटाए,’ अध्यक्ष ओलीले भने, ‘एमाले फुटाउन अग्नि सापकोटा र निर्वाचन आयोगले सहयोग गरे, माधव नेपाललाई पार्टी तलैसम्म फुटाउने षडयन्त्रमा निर्वाचन आयोगले पनि सघायो।’

अध्यक्ष ओलीले एमालेसँग कसरी कमाउने नभएर कसरी देश बनाउँने भन्ने भिजन रहेको तर्क गरे।

 

प्रकाशित मिति: १८:४४ बजे, सोमबार, भदौ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्